रोहितको शतक र विराटको अर्धशतकमा भारतको सान्त्वना जित

सिड्नी, कात्तिक ८ गते । भारतले शनिबार तेस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई नौ विकेटले हराएको छ । अन्तिम खेल हारेपनि घरेलु टिम अस्ट्रेलियाले तीन खेलको शृङ्खला २–१ ले हात पार्यो । भारतका लागि दुई अनुभवी खेलाडी रोहित शर्माले शतक र विराट कोहलीले अर्धशतक बनाए ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४६.४ ओभरमा २३५ रनमा अलआउट भएको थियो । तेज बलर हर्षित रानाले ३९ रनमा चार विकेट लिए ।

रोहितले १२५ बलमा अविजित १२१ र कोहलीले ८१ ब्लमा अविजित ७४ रन बनाएपछि भारतले ६९ बल बाँकी छँदै एक विकेटको क्षतिमा २३७ रन बनाएर जित प्राप्त गर्यो । एकदिवसीय क्रिकेटमा रोहितले ३३ औँ र कोहलीले ७५ औँ अर्धशतकीय पालि खेलेका हुन् । यसैगरी अस्ट्रेलियाको पालिमा कप्तान मिचेल मार्शले सर्वाधिक ४१ रन बनाए ।