अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको मुख्य अनुष्ठान सम्पन्न
काठमाडाैं, १० कात्तिक । श्रद्धा र लोकआस्थाको महापर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ । मिथिलाञ्चलसहित देशभरका नदी, तलाउ र जलाशयका घाटहरूमा भक्तजनको घुइँचो लागेको थियो ।
गत शनिबार चतुर्थी तिथिदेखि विधिवत् रूपमा सुरु भएको चारदिने यस महापर्वको आज षष्ठी तिथिमा मुख्य पूजा अनुष्ठान सम्पन्न गरिएको हो । बर्तालुहरूले दिनभर निराहार व्रत बसी सपरिवार पूजा सामग्री लिएर जलाशय किनारमा बनाइएका छठ घाटमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।
छठ पर्वका लागि विशेष रूपमा तयार पारिएका गुलियो परिकारहरू ठकुवा, भुसवा, खजुरीया, पेरुकिया लगायतका पकवान, तथा विभिन्न प्रकारका फलफूल (मूला, गाजर, बेसारको गाँठो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा) नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकिया जस्ता सामग्रीहरू सजाइएका थिए । परिवारका सम्पूर्ण सदस्यहरूले भक्तिमय लोकगीत गाउँदै घाटमा पुगेर छठ माता र सूर्यदेवको आराधना गरेका थिए ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने उद्देश्यले मनाइने यस पर्वमा पोखरी, नदी, तलाउ र जलाशयहरूमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
पर्वको पहिलो दिन बर्तालुहरूले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने गर्दछन् । दोस्रो दिन ‘खरना’ मनाइएको थियो, जसमा व्रतीहरूले दिनभर उपवास बसी राति छठ देवताको आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गरी अरवा अरबाईन (नुनरहित) खानेकुरा ग्रहण गरेका थिए ।
छठ पर्व भोलि मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा समापन हुनेछ । बर्तालुहरू पुनः छठ घाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पर्वको समापन गर्नेछन् ।