विशेष अदालतले जेनजी आन्दाेलनमा तोडफोड तथा आगजनी गर्नेविरुद्ध जाहेरी, ६ करोड ८८ लाखको क्षति

काठमाडाैं, १९ कात्तिक । विशेष अदालत काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिएको छ ।

अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो । अदालतमा ६ करोड ८८ लाख २८ हजार रुपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए ।

“हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,” स्रोतले भन्यो, “अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाहीमा पर्छ ।”

भदौ २३ गते दिउँसो ३ बजेतिर अदालतको भवनमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए ।
आगजनी भएको भवन र सामग्रीको मूल्यांकन गरेर क्षति रकम अनुमान गरिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसरले पनि जाहेरी आएको र अहिले अध्ययन गरिरहेको उनले जानकारी दिए ।