हडियाबाबा आश्रममा भक्तजनको घुइँचो

काठमाडौँ, कार्तिक २७ । नेपालगञ्ज उपमहानगरपालिका-६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । यहाँ प्रत्येक वर्ष हडियाबाबाको पुण्यस्मृति दिवसको अवसरमा मेला लाग्ने गर्दछ, जहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ साधुसन्तको सहभागिता रहने गर्दछ। चिसो मौसमको परवाह नगरी साधुसन्तहरू दिनरात हडियाबाबा मन्दिर परिसरको खुल्ला बगैँचामा बिताउँछन् ।

हडियाबाबाको ६०औँ पुण्यस्मृति दिवसको अवसरमा यस वर्ष पनि कात्तिक २१ गतेदेखि छदिने हडियाबाबा धार्मिक मेला सुरु भएको थियो ।  हडियाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, यस मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट ७
सय भन्दा बढी साधु तथा सन्तहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष वैश्यले भन्नुभयो, “रातको समयमा पनि साधुसन्तहरू मन्दिर परिसरमा आगो तापेर भजनकीर्तनमा रमाउने गर्नुहुन्छ। मेलामा प्रत्येक दिन उपस्थित साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरूलाई भण्डारा खुवाउने व्यवस्था मिलाइएको छ ।” हडियाबाबा आश्रम समितिका सदस्य राकेश श्रीवास्तवले मेलामा नेपालको बाँके, बर्दिया, दाङ, कैलालीलगायत छिमेकी मित्रराष्ट्र भारतबाट समेत साधुसन्त, महात्माहरू आउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार, मेलामा राति प्रवचन, नाटक मञ्चनलगायत विभिन्न भक्तिका कार्यक्रमहरू आयोजना हुने गर्दछन्। मेलामा उपस्थित साधुसन्त, महात्माहरूलाई हरेक समयमा खाना नास्तालगायतको व्यवस्थापन गर्ने गरिएको छ ।

मेलाको अन्तिम दिन बुधबार टाढाबाट आएका साधुसन्तहरूलाई बिदाइको बेला कम्बल, दक्षिणा आदिको व्यवस्था गरिएको अध्यक्ष वैश्यले जानकारी दिनुभयो । करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर र गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र उद्यान छ। शान्त वातावरणमा रहेको हडियाबाबा आश्रम धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र हो ।

करिब एक सय वर्षअघि नेपालगञ्जमा आउनुभएका बाबाले आफ्नो तपस्याको शक्तिबाट चाहेको वस्तु बनाउन सक्ने र भक्तजनहरूको इच्छा पूरा गर्नसक्ने जनश्रुति तथा विश्वास रहिआएकाले बाँकेका साथै भारतका विभिन्न क्षेत्रबाट साधु, सन्त तथा हडियाबाबाका भक्तजनहरू प्रत्येक वर्ष मेलामा सहभागी हुने गरेको अध्यक्ष वैश्यले बताउनुभयो।

मन्दिर परिसरमा हडियाबाबाको समाधि, आश्रम र मन्दिरसहित साधुसन्त बस्न मिल्ने संरचना तथा बगिया रहेको छ। सोही बगियामा हरेक वर्ष हडियाबाबाको वार्षिक पुण्यतिथिमा मेला लाग्ने प्रचलन रहेको छ। अध्यक्ष वैश्यका अनुसार, मन्दिरमा आएर भाकल गर्नेहरूको मनोकामना पूरा हुने विश्वास रहिआएको छ।

रामलीला धार्मिक नाटकसमेत मञ्चन हुने यस मेलामा प्रत्येक दिन साँझपख स्थानीयवासीको समेत ठूलो सङ्ख्यामा उपस्थिति हुने गर्दछ। स्थानीय अगुवा माधवराम बर्माले बताउनुभयो, “मेला अवधिभर प्रत्येक दिन साँझ हडियाबाबा मन्दिरमा दर्शन गर्न र प्रसाद खान भक्तजन आउने गरेका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *