निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थप नगर्ने, राष्ट्रिय परिचयपत्रबाट सूचीकृत गरिने

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय थप नगर्ने भएको छ।

निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेसम्म नामावली दर्ताको समय लम्ब्याउँदा निर्वाचन कार्यतालिका नै प्रभावित हुने जानकारी गराएका थिए।

राष्ट्रिय परिचयपत्रबाट मतदाता सूचीकृत:
नामावली दर्ताको समय लम्ब्याउन नसकिने भएपछि अब राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिकबाट पनि मतदाता सूचीकृत गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री कार्कीसँग बुधबार भएको छलफलमा राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका लागि संकलन गरेको जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयार रहेको बताएका थिए।

आजबाट राष्ट्रिय परिचयपत्र बनाएका र मतदाता नामावलीमा नाम नभएका मतदाताको पनि नामावली सूचीकृत हुने गरी व्यवस्था मिलाइसकिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफै निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउने उनको भनाइ छ।

निर्वाचन तयारी र वातावरण:
बुधबारको छलफलमा आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएको थियो। हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने पनि आयोगले ब्रिफिङ गरेको थियो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेकाले निर्वाचनको वातावरण बन्दै गएको बताएका थिए। विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको कारण विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको उनको भनाइ थियो।

आयोगमा नयाँ दल दर्ता र मतदाता नामावलीमा समावेश हुने क्रम पनि उत्साहजनक रहेको आयोगले बताएको थियो। हालसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्थाहरू निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराउन आइसकेको उनको भनाइ छ।

आचारसंहिता र निर्वाचन कार्यक्रम:
आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा सुझावका लागि सबै दललाई पठाइसकिएको जानकारी दिँदै अब निर्वाचन कार्यक्रम प्रकाशन गर्न लागेको बताए। उनका अनुसार, त्यसअघि दलहरूसँग पुनः छलफल गरिनेछ।