छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा, रमणीयताले तान्यो मन
तनहुँ, ५ मङ्सिर । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा नवनिर्मित उद्यान आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ। समुद्री सतहबाट २ हजार १३४ मिटरको उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको यो रमणीय पार्कले अहिले पर्यटकहरूको मन जितिरहेको छ।
प्रसिद्ध छिम्केश्वरी मन्दिरनजिकै रहेको यस उद्यानमा बिदाको दिन र शनिबार आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार, छिम्केश्वरी माईको दर्शनका लागि आउने भक्तजनहरू यस सुन्दर पार्कमा घुम्न छुटाउँदैनन्।
गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँ र स्थानीय जनसहभागिताको २ लाख रुपैयाँ गरी कुल २२ लाख रुपैयाँको लागतमा यो पार्क निर्माण भएको हो। यहाँ २० फिट अग्लो नेपालको राष्ट्रिय झन्डासमेत फहराइएको छ, जसले यसको शोभा अझ बढाएको छ। यहाँको शीतल मौसमले गर्दा गर्मी याममा अझ धेरै पर्यटकहरू आउने अपेक्षा गरिएको छ। वडाध्यक्ष गुरुङ भन्नुहुन्छ, “यहाँ छिनछिनमा मौसम परिवर्तन भइरहन्छ, एकैछिनमा घाम लाग्छ, एकैछिनमा हुस्सुले छेकिन्छ।”
पार्कमा आउने आन्तरिक पर्यटकहरू तस्बिर खिच्न र टिकटक बनाउनमा व्यस्त देखिन्छन्। यहाँबाट देखिने मनमोहक हिमशृङ्खलाहरूले पर्यटकहरूलाई थप मोहित पार्छ। छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका सुन्दर हिमालहरूलाई आँखा अगाडि नै नियाल्न सकिन्छ।
आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरीमा रहेको प्रसिद्ध छिम्केश्वरी मन्दिरको जीर्णोद्धार गरिसकेको छ। पुरानो मन्दिरलाई आकर्षक शैलीमा जीर्णोद्धार गरी पित्तलको छानो राखिएको छ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ। सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ।