‘भोलेन्टियर फोर्सबाट कोही नआत्तिनुस्, असहमत हुनेको पनि रक्षा गर्छ’ : केपी ओली

 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि त्रसित हुनुनपर्ने बताउनुभएको छ। उहाँले यो दस्ताले पार्टीसँग असहमत पक्षको समेत जिउधनको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

फोर्सको उद्घाटन समारोहमा बोल्दै उहाँले राज्यको शान्ति-सुरक्षाको प्रयासमा सघाउन स्वयंसेवी दस्ता आवश्यक परेको जिकिर गर्नुभयो। “राज्य संयन्त्रले मात्रै जनताको जिउधनको रक्षा गर्न नसकेको यथार्थ हामीले भोगेका छौं। त्यसैले राष्ट्रिय हित र शान्ति सुरक्षाको लागि यो फोर्स गठन गरिएको हो,” ओलीले भन्नुभयो।

उहाँले यो दस्ता कुनै पनि किसिमको समानान्तर सुरक्षा निकाय नभई विशुद्ध स्वयंसेवी संगठन भएको स्पष्ट पार्दै भन्नुभयो, “यसको विकाससँग कोही पनि आत्तिनुपर्दैन। यो देशमा अमनचयन कायम राख्न गठन भएको हो।”