दुर्लभ पृथ्वी चुम्बक उत्पादनमा भारतद्वारा ८० करोड डलरको योजना स्वीकृत

काठमाडौँ, मंसिर ११ । भारत सरकारले दुर्लभ पृथ्वी स्थायी चुम्बक (रेयर अर्थ परमानेन्ट म्याग्नेट-आरइपिएम) को उत्पादन विस्तार गर्न ८० करोड अमेरिकी डलरभन्दा बढी (करिब ७२ अर्ब ८० करोड भारतीय रुपैयाँ) को योजना स्वीकृत गरेको छ । चीन लगायतका बाह्य मुलुकमाथिको बढ्दो निर्भरता कम गर्दै रणनीतिक तथा प्राविधिक क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले यो कदम चालिएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त उत्पादन प्रवर्द्धन योजनालाई अनुमोदन गरेको हो ।  सरकारी विज्ञप्ति अनुसार, यो पहलले घरेलु उद्योगहरूको आपूर्ति शृङ्खला सुरक्षित गर्दै दीर्घकालीन आत्मनिर्भरता निर्माण गर्ने लक्ष्य राखेको छ । योजना अन्तर्गत उत्पादनसँग जोडिएका प्रोत्साहन तथा अनुदानमार्फत वार्षिक करिब ६ हजार मेट्रिक टन उत्पादन क्षमताको एकीकृत आरइपिएम आधार खडा गर्ने भारतको तयारी छ ।

दुर्लभ पृथ्वी तत्वहरूको मिश्रित धातुबाट बन्ने आरइपिएम विद्युतीय सवारीसाधन, एयरोस्पेस, रक्षा प्रविधि, पवनचक्की तथा अन्य नवीकरणीय ऊर्जा प्रणालीमा प्रयोग हुने उच्च शक्तिशाली चुम्बक हो । हाल भारतले आफ्नो आवश्यकताको अधिकांश हिस्सा आयात मार्फत पूरा गर्दै आएको छ । सरकारी अनुमान अनुसार सन् २०३० सम्ममा भारतमा यसको माग दोब्बर हुनेछ।

भारतको अटोमोटिभ कम्पोनेन्ट म्यानुफ्याक्चरर्स एसोसिएसन (एसिएमए) ले सरकारको यो निर्णयको स्वागत गरेको छ। एसिएमएका अध्यक्ष विक्रमपति सिंघानियाले भन्नुभयो, “यस योजनाले उन्नत सामग्री क्षेत्रमा लगानी आकर्षित गर्नेछ र विद्युतीय तथा स्वच्छ ऊर्जा प्रविधिका लागि भारतलाई विश्व मूल्य शृङ्खलामा बलियो रूपमा स्थापित गर्नेछ ।” उहाँले यसलाई विद्युतीय सवारी तथा उन्नत गतिशीलता प्रणालीको अभाव सम्बोधन गर्ने ‘दूरदर्शी र रणनीतिक हस्तक्षेप’ को संज्ञा दिनुभयो ।

यस वर्षको सुरुमा चीनले दुर्लभ पृथ्वी तत्वको निर्यातमा नियन्त्रण गरेपछि भारतीय उद्योगहरूमा चिन्ता बढेको थियो । यो नयाँ सरकारी निर्णयलाई आपूर्ति जोखिम कम गर्ने र विश्व बजारमा भारतलाई प्रतिस्पर्धी बनाउने महत्त्वपूर्ण रणनीतिका रूपमा विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *