मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेशसभा बैठक ३ मिनेटमै स्थगित, २ बजे पुनः बस्ने
जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक सुरु भएको तीन मिनेटमै स्थगित भएको छ। विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव नै उपस्थित नभएपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
बिहान ८:३० बजेका लागि आह्वान गरिएको बैठक १० बजेपछि मात्र सुरु भएको थियो। बैठक सुरु हुनासाथ उपसभामुख बबिता राउत ईसरले मुख्यमन्त्री यादवलाई विश्वासको मतको प्रस्ताव पेस गर्न समय दिएकी थिइन्। तर, सरकारका तर्फबाट रोस्ट्रममा कोही पनि उपस्थित नभएपछि उपसभामुख ईसरले तत्कालै बैठक स्थगित भएको घोषणा गरिन्।
संसद सचिवालयका अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि दिउँसो २ बजेको समय माग गरेका छन्। मुख्यमन्त्रीले २ बजे मात्रै उपस्थित हुने जानकारी गराएपछि निर्धारित समयभन्दा ढिला सुरु भएको बैठक औपचारिकताका लागि मात्र बसेर स्थगित गरिएको हो।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मतको सामना गर्न लागेका हुन्।