बेनीकोटको सुन्तला बजारीकरणमा सडक समस्या

तनहुँ, १७ मङ्सिर । व्यास नगरपालिका–१३ स्थित बेनीकोट, जुन ‘सुनकोट’ का रूपमा पनि परिचित छ, अहिले सुन्तला बजारीकरणको समस्यासँग जुझिरहेको छ।

भिरालो र जोखिमपूर्ण सडकका कारण सुन्तला ढुवानीमा कठिनाइ भएको छ, जसले गर्दा दुर्घटनाको खतरा पनि उत्तिकै बढेको स्थानीय कृषकहरू बताउँछन्।

स्थानीय कृषक लेखबहादुर थापाका अनुसार, अहिले बेनीकोटबाट दैनिक पाँच गाडी सुन्तला बाहिरिने गरेको छ। यहाँका हरेक घरमा कम्तीमा २० देखि ८०० बोटसम्म सुन्तला लगाएर व्यावसायिक खेती गरिँदै आएको छ।

यतिबेला ठेकेदारहरू गाउँमै पुगेर सुन्तला खरिद गरी काठमाडौँ, चितवन र पोखरासम्म ढुवानी गरिरहेका छन्।
मङ्सिरको पहिलो सातासम्म धान भित्र्याउन व्यस्त रहेका किसानहरू अहिले करोडौँको सुन्तला बिक्रीमा व्यस्त छन्। कृषक फलबहादुर थापाले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बेचेको बताउनुभयो। त्यस्तै, तारा थापाले ३ लाख ८० हजार र कालबहादुर रानाले ४ लाख रुपैयाँको सुन्तला बेचेका छन्। ठेकेदारहरू गाउँमै आएर बोट किन्ने र ढुवानी गर्ने हुँदा बिक्रीमा केही सहजता भए पनि सडकको अवस्थाका कारण ढुवानीमा कठिनाइ भएको खरिदकर्ताहरूले गुनासो गर्ने गरेका छन्।

स्थानीय कृषक मनसिंह थापाले २ लाख १० हजार रुपैयाँको सुन्तला बेचेको र दिनबहादुर थापाले ३ लाख रुपैयाँको सुन्तला बेचेको जानकारी दिनुभएको छ। उहाँहरूले सडकका कारण ढुवानीमा खरिदकर्तालाई समस्या परेको बताउनुभएको छ।

यस वर्ष अधिकांश सुन्तलाका बोटमा रोग लागेकाले उत्पादनमा कमी आएको कोटगाउँका दिपक थापाले बताउनुभयो। उहाँले पुराना र रोगी बिरुवा हटाएर नयाँ बिरुवा लगाउने योजना बनाएको जानकारी दिनुभयो। यस वर्ष बेनीकोटका स्थानीयले सुन्तलाबाट २ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। यो स्थान सदरमुकाम दमौलीबाट सात किलोमिटरको दूरीमा पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *