कञ्चनपुरको गौरीघाट सामुदायिक वनमा अवैध रुख कटान, अनुसन्धान सुरु
कञ्चनपुर, १७ मङ्सिर । कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठूलो सङ्ख्यामा काँचा रुखहरू अवैध रूपमा कटान भएको पाइएपछि डिभिजन वन कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार, सामुदायिक वनमा ११६ खयर, २२ सिसौ र एक कन्जु गरी कुल १३९ रुख काटिएको पाइएको छ। यस घटनाको छानबिनका लागि सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकिएको छ।
कार्यालय प्रमुख डिसीले अनुसन्धान प्रक्रियापश्चात् पेस गरिने प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने बताउनुभयो। उहाँले भन्नुभयो, “सामुदायिक वनका अध्यक्ष र वडाध्यक्ष बाहिर रहेका बेला फिल्मी शैलीमा रुख अवैध रुपमा कटानी भएको पाइएको छ। अनुगमन गर्दा ठूलो सङ्ख्यामा रुख कटानी भएको पाएका छौँ।”
रुख कटानी गरी गायब पारे पनि रुखका ठुटाबाटै बिगो कायम गर्न सकिने डिसीले उल्लेख गर्नुभयो।
उहाँले जोसुकै र जुनसुकै ओहदाको व्यक्ति दोषी ठहरिए पनि वन ऐनअनुसार हदैसम्मको कारबाही हुने बताउनुभयो। यस सम्बन्धमा प्रदेशस्थित मन्त्रालयका सचिवसँग परामर्श गरी कारबाही प्रक्रिया अगाडि बढाउने डिसीको भनाइ छ।
दोषीलाई नियन्त्रणमा लिएर छिट्टै कारबाही प्रक्रिया अगाडि बढ्ने डिसीले जानकारी दिनुभयो। उहाँका अनुसार, यही मङ्सिर ११ गते दिउँसो १ बजे योजनाबद्ध रूपमा रुख कटानी गरिएका थिए। रुख कटानी गरिरहेको भिडियो र तस्बिर वन कार्यालयमा प्राप्त भएको पनि उहाँले बताउनुभयो।