दूध आपूर्ति बढेपछि चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

काठमाडौँ, मंसिर १ । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योग १० महिनापछि पुनः सञ्चालनमा आएको छ । कात्तिक महिनादेखि दूधको आपूर्ति नियमित हुन थालेपछि उद्योगले दूध प्रशोधन सुरु गरेको हो । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको छ । अहिले बिदाका दिनबाहेक नियमित रूपमा दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा भने दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।

गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि आपूर्तिमा कमी आएको प्रबन्धक पराजुलीले बताउनुभयो । सहकारी तथा डेरीले सङ्कलन गरेको दूध सीधै बजारमा बिक्री गर्न थालेपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेकाले पनि दूधको आपूर्ति घटेको उहाँको भनाइ छ ।

किसानबाट सङ्कलित दूध बिक्री हुन नसकेको अवस्थामा सहकारी तथा डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउँदै आएका छन् । उद्योगमा प्रशोधन गरिएको दूधबाट धुलो दूध र नौनी उत्पादन हुने गरेको छ । दूधको आपूर्ति बन्द भएपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध उपलब्ध नभएकाले सम्भव नभएको पराजुलीले बताउनुभयो ।

उहाँका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री हुन नसकेपछि डेरी तथा सहकारीले प्रशोधनका लागि उद्योगमा ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले बिक्री गरी लगिसकेका छन् । ती उत्पादन लामो समयसम्म भण्डारण हुँदा भरिएका उद्योगका भण्डारणस्थल अहिले खाली भएका छन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको चितवन मिल्क उद्योगले विसं २०७५ देखि डेरी तथा सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध उत्पादन गर्दा रु ११३ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ ।

विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो । त्यसअघि उद्योगले आफैँ दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *