काठमाडौँ र जापानका सहरबीच नागरिकस्तरको सम्बन्ध थप सुदृढ बनाइने

नेपाल–जापान महोत्सव

काठमाडौँ, मंसिर १ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ र जापानका विभिन्न सहरका नागरिकबीच स्थापित आत्मीय सम्बन्धलाई ज्ञान, सीप तथा क्षमता आदानप्रदान र हस्तान्तरणको माध्यमबाट थप सुदृढ बनाउँदै लगिने बताउनुभएको छ ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा आगामी मंसिर ६ गते काठमाडौँको दरबारमार्गमा आयोजना हुने नेपाल–जापान महोत्सवको निमन्त्रणा दिन महानगरपालिका पुग्नुभएका नेपालका लागि जापानी राजदूत मायदा तोरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

जापानी राजदूत मायदा र कार्यवाहक प्रमुख डंगोलबीच भेटवार्ता, मंसिर ६ गते दरबारमार्गमा नेपाल–जापान महोत्सव

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको जापानको मात्सुमोतो नगरसँग पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै त्यहाँका नागरिकले काठमाडौँमा खेलकुद पूर्वाधार विकासका लागि सहयोग गरेको बताउनुभयो । यस्तै, युनेस्को सिर्जनात्मक सहर सञ्जालमार्फत जापानको यामागाता नगरसँग पनि काठमाडौँ जोडिएको उहाँले जानकारी दिनुभयो ।

डंगोलले गत कात्तिकमा सम्पन्न काठमाडौँ फिल्म फेस्टिभलमा यामागाता युनेस्को फिल्म सिटी सर्ट्सको परिचयात्मक प्रदर्शन गरिएको उल्लेख गर्दै नागरिकस्तरमा स्थापित सम्बन्धले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई समेत दीर्घकालीन र बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत मायदा तोरुले नेपाल–जापान महोत्सवले दुवै देशका सांस्कृतिक पहिचान, कला र सिर्जनालाई आपसमा जोड्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले काठमाडौँमा पछिल्लो समय देखिएका परिवर्तनको प्रशंसा गर्दै वसन्तपुरका मठमन्दिर तथा स्मारक क्षेत्रमा मौलिक स्वरूपमा जडान गरिएका बत्तीले सम्पदाको सौन्दर्य र गरिमा थप बढाएको बताउनुभयो ।

भेटमा स्थानीय व्यापार तथा व्यवसाय र महोत्सवबीचको सम्बन्ध, कला, साहित्य तथा सिर्जना, महोत्सव व्यवस्थापन, सरसफाइ र स्वच्छतालगायत विषयमा पनि छलफल भएको थियो । छलफलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, नेपाल–जापान फेस्टिभल कमिटीका अध्यक्ष सौरभ ज्योतिलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।

नेपाल–जापान फेस्टिभल २०२६ कार्यकारी समितिको आयोजनामा हुन लागेको महोत्सवले नेपाली तथा जापानी संगीत र कलालाई जनस्तरसम्म पुर्‍याउँदै दुई देशबीचको मित्रता र ऐक्यबद्धता प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा जापानको प्रख्यात सांगीतिक समूह गोडाइगोको प्रस्तुति तथा नेपालका विभिन्न जातजाति र भाषाभाषीका मौलिक नृत्य र खेल मुख्य आकर्षणका रूपमा रहनेछन् । गोडाइगोले सन् १९८० मा काठमाडौँको रंगशालामा सांगीतिक प्रस्तुति दिएको थियो । त्यसको ४६ वर्षपछि सन् २०२६ मा उक्त समूह पुनः नेपाल आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *