एमाले महाधिवेशन राष्ट्रियता र लोकतन्त्रको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर: अध्यक्ष ओली

काठमाडौँ, १९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ।

उहाँले एक सार्वजनिक अपिलमार्फत एमालेलाई राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा ७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्ति भएको उल्लेख गर्दै यस महाधिवेशनमा व्यापक उपस्थितिका लागि आह्वान गर्नुभएको छ।

अध्यक्ष ओलीले हालै प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ।

निर्वाचन घोषणा भए पनि त्यसका पूर्वशर्तका रूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको उहाँको आरोप छ। ओलीको अपिलमा उल्लेख छ, “हामीले लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधानविरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्व छ।”