नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै अध्यक्ष ओलीले भन्नुभयाे, पुराना दल सकिए भन्ने नसोच्दा हुन्छ

काठमाडौँ, २० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गर्नुभएको छ। आज च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उहाँले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घेराबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने बताउनुभयो।

उहाँले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकोले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिनुभयो। “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो। त्यसैले यसलाई सफल बनाउनु पर्दछ,” उहाँले भन्नुभयो, “महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ।”

उहाँले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्नका लागि महाधिवेशन आयोजनासमेत गरिएको बताउनुभयो।

अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिनुभयो। “हामीले चुनावलाई पर्खिरहेका छौँ। चुनावबाट आउने सरकार एमालेको हुन्छ,” उहाँले भन्नुभयो, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउने छ।”

एमाले महासचिव शङ्कर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताउनुभयो। एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उहाँको भनाइ थियो।
महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उहाँले देशको राजनीति एमालेको वरिपरि घुमेको बताउनुभयो। उहाँले पार्टीमा यतिबेला प्रतिस्पर्धा नभई एकताको खाँचो रहेको भन्दै केपी शर्मा ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो।

महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले प्रभावकारी रूपले महाधिवेशन र पार्टीका गतिविधि प्रचार गर्न नवयुग ई–बुलेटिन प्रकाशनमा ल्याइएको बताउनुभयो। उहाँले महाधिवेशनको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो। आज सुरु गरिएको ई–बुलेटिनमा हरेक दिन बेलुका ७ बजे महाधिवेशनका गतिविधि प्रकाशित गरिने बताउनुभयो।