वीक्यान एजुकेशन नेपालद्वारा राष्ट्रिय देशभक्ति गीतमा नृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर, २१ मङसिर । वीक्यान एजुकेशन नेपाल भक्तपुरद्वारा आयोजित राष्ट्रिय देशभक्ति गीतमा नृत्य प्रतियोगिता जागृती विद्या सदन, भक्तपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको स्वागत मन्तव्य वीक्यान एजुकेशन नेपालका सह–सचिव तथा जागृती विद्या सदनका प्रधानाध्यापक जगदीश पौडेलले प्रस्तुत गर्नुभएको थियो। उहाँले सदस्य विद्यालयका प्रतिनिधि, सहभागी तथा सबै अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीले देशभक्तिप्रति जागरण जगाउने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास तथा राष्ट्रप्रेम अभिवृद्धि हुने बताउँदै, हरेक विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

प्रतियोगितामा रितम्भरा पाठशाला – दुवाकोट प्रथम, जागृती विद्या सदन – बेसी द्वितीय र सेरीनकेन इङलिस विद्यालय – झौखेल तृतीय स्थान हासिल गर्न सफल भए। पाथीभरा एकेडेमी (सृजनानगर), रुबिभ्याली विद्यालय (सूर्यविनायक), आरक्षण नेशनल विद्यालय (सुडाल), क्रियटिभ इङ्लिस विद्यालय (नागपोखरी) र माम्ती विद्यालय (पाण्डुबजार) ले सान्त्वना पुरस्कार प्राप्त गरेको विवरण वीक्यान एजुकेशन नेपालका सचिव तथा पाथीभरा एकेडेमीका प्रधानाध्यापक रमेश प्रसाद सिटौलाले जानकारी गराउनुभयो।

कार्यक्रमको बधाई तथा धन्यवाद मन्तव्य वीक्यान एजुकेशन नेपालका अध्यक्ष रत्न बहादुर राईले प्रस्तुत गर्दै, कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा, क्षमता र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै देशले भविष्यमा लाभ उठाउन सक्ने क्षमतावान पुस्ता पहिचान गर्न मद्दत गर्ने भनाइ राख्नुभयो।

संस्थाका सचिव सिटौलाले कार्यक्रम सभ्य, मर्यादित र भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।

कार्यक्रममा क्रियटिभ इङ्लिस सेकेन्डरी स्कुलका प्रधानाध्यापक विश्व राम दुवाल, सेरीनकेन इङलिस स्कुलका डाइरेक्टर कमल सुवाल, आरक्षण नेशनल स्कुलका व्यवस्थापक सरोज के.सी., रितम्भरा पाठशालाका संयोजक अनिश के.सी., माम्ती नेशनल विद्यालयका लेखा संयोजक सुरेश जाकीबन्जार, तथा जागृती विद्या सदनकी डाइरेक्टर कल्पना सिंह कार्की के.सी. अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रमको सञ्चालन जागृती विद्या सदनकी विद्यालय संयोजक रजनी सापकोटाले गर्नुभएको थियो। कार्यक्रम वीक्यान एजुकेशन नेपाल का अध्यक्ष रत्न बहादुर राईको सभाध्यक्षतामा सम्पन्न भएको थियो।