सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः बिरामीको चाप उच्च, स्थानको अभाव

सुर्खेत, २१ मङ्सिर । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टीकृत सेवाहरू, विशेषगरी बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), ‘रेटिना’ र जलविन्दु उपचार सेवा सञ्चालनको तयारी गरिरहेको छ। यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापन गरिरहेको छ। यी सेवाहरू सुरु भएपछि आँखाको उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

अस्पतालकी मेडिकल निर्देशक डा. आकाङ्क्षा रानाका अनुसार रेटिना उपचार सेवा सुरु भइसकेको छ भने अन्य सेवाहरू पनि छिट्टै थालनी हुनेछन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा अन्धोपनको दर उच्च रहेको (कुल जनसङ्ख्याको १ प्रतिशत) छ। अस्पतालले बाल आँखा र रेटिना उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएको छ।

स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित यस अस्पतालमा कर्णाली प्रदेशका १० जिल्लाका साथै अछाम, बाजुरा र बझाङबाट समेत बिरामीहरू उपचारका लागि आउने गर्छन्। अस्पतालले हाल बहिरङ्ग सेवा, शल्यक्रिया सेवा (मोतिविन्दुको आधुनिक पद्धति, आँशुनली, मासु पलाएको लगायतका सामान्य शल्यक्रिया), मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ। अस्पताल बिमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकहरूलाई आँखा उपचारमा सहज पहुँच भएको डा. रानाले बताउनुभयो।

बिरामीको चाप उच्च, स्थानको अभाव
नेपाल रेडक्रस सोसाइटीका सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले पछिल्लो समय बिरामीको चापमा वृद्धि र सेवा विस्तारको तयारीसँगै अस्पतालमा स्थान र भवनको अभाव भएको बताउनुभयो। यद्यपि, अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगरको सहकार्यमा भवनमा तला थप्ने तथा अन्य पूर्वाधार निर्माणको कार्य जारी राखेको छ।

सभापति आचार्यले दाताको भरमा सेवा सुरु भए पनि यसलाई कसरी दिगो बनाउने भन्ने चिन्ता व्यक्त गर्नुभयो। अस्पतालले अति दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गर्दै आएको छ र नौ स्थानमा आँखा उपचार केन्द्रहरू पनि चलाइरहेको छ। गत आर्थिक वर्षमा अस्पतालले एक लाख बिरामीलाई सेवा दिएको थियो भने चार हजार जनाको मोतिविन्दुको शल्यक्रिया गरेको थियो।

अस्पतालको उत्कृष्ट व्यवस्थापन, सरसफाइ र बिरामीमैत्री वातावरणका कारण सेवाग्राही आकर्षित भएका छन्। हाल अस्पतालमा तीन जना नेत्र विशेषज्ञसहित ४० स्वास्थ्यकर्मी सेवारत छन्। नेपाल रेडक्रस सोसाइटीका कामु कार्यकारी निर्देशक मोना अर्यालले अस्पतालको क्षमता वृद्धि गर्न उच्च प्राथमिकता दिइने जानकारी दिनुभ