नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल, राजदूत र महासंघ अध्यक्षको लगानी आह्वान

भियतनाम, २५ मङ्सिर । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा दुवै देशले आर्थिक सहकार्य र लगानी वृद्धिमा जोड दिएका छन्।

थाइल्याण्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओली तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरेका छन्।

आज भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीबीच भएको छलफलका क्रममा राजदूत ओलीले नेपालमा लगानीको ठूलो सम्भावना रहेको औँल्याए। उनले विश्व अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीबीच दुई देशले एकापसमा आर्थिक सहकार्य बढाएर लाभ लिनुपर्नेमा जोड दिए। “नेपालमा निर्यातजन्य उद्योगमा लगानीका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु,” राजदूत ओलीले भने, “पर्यटन, उत्पादनमूलक उद्योग, आईसीटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायतका क्षेत्रमा लगानीको प्रचुर सम्भावना छ।” उनले नेपाल सरकार भियतनामी लगानीकर्तालाई स्वागत गर्न र व्यापार तथा लगानीका लागि सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि दुई देशबीचको ५० वर्ष लामो कूटनीतिक सम्बन्धलाई अब आर्थिक सहकार्यमा थप बलियो बनाउनुपर्नेमा जोड दिए। “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना छ,” ढकालले भने, “यता, नेपालमा भियतनामको कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको ठूलो बजार छ। दुई देशको अर्थतन्त्र एकापसमा पूरक बन्न सक्छ।”

ढकालले नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको, कानूनहरू लगानीमैत्री भएको र लाइसेन्स, भन्सार तथा कर प्रशासनमा सुधार आएको बताए। सरकार विदेशी लगानीको सुरक्षाप्रति सचेत रहेको पनि उनले स्पष्ट पारे। विशेषगरी केबलकार, रिसोर्ट, साहसिक पर्यटन, वेलनेस सेन्टरजस्ता पर्यटन क्षेत्रमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै ढकालले भियतनामी लगानीकर्तालाई स्वागत गर्न आफूहरू उत्सुक रहेको बताए। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यावसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नसमेत निम्तो दिए।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले नेपालसँग थप आर्थिक साझेदारीका लागि आफूहरू इच्छुक रहेको बताए। उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए। “हालसम्म दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ,” भिनले भने, “आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *