नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ४६ जना पक्राउ, प्रहरीद्वारा विशेष अभियान जारी

काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रहरीले काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुहरूलाई जथाभावी दुःख हैरानी दिने, झोला तान्ने र शंकास्पद गतिविधि गर्ने ४६ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले बुधबार साँझ चलाएको विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौँ भित्रिने यात्रुहरूलाई जबर्जस्ती झोला तानेर दुःख दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

“आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएका छौँ,” एसपी भट्टराईले भने, “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, तर उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ।” उनले यात्रुहरूलाई सुरक्षित र सहज यात्राको वातावरण बनाउनका लागि प्रहरीले यो अभियानलाई निरन्तरता दिने बताए।

नयाँ बसपार्क क्षेत्रमा यस्ता गतिविधिहरूले यात्रुहरूलाई लामो समयदेखि समस्या दिँदै आएका थिए, जसलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *