भेनेजुएलाको तटबाट अमेरिकाद्वारा विशाल तेल ट्याङ्कर नियन्त्रणमा, मदुरो सरकारमाथि दबाब तीव्र
वाशिङ्टन/कराकस । अमेरिकाले भेनेजुएलाको तटनजिकै अन्तर्राष्ट्रिय जलक्षेत्रबाट एक विशाल तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार यसको पुष्टि गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सरकारमाथि दबाब बढाउने रणनीतिका साथ यो कदम चालिएको बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले कब्जा गरिएको उक्त जहाज हालसम्मकै सबैभन्दा ठूलो ट्याङ्कर भएको दाबी गर्नुभयो। “हामीले भेनेजुएलाको तटबाट भर्खरै एउटा ठूलो ट्याङ्कर नियन्त्रणमा लिएका छौँ,” ट्रम्पले भन्नुभयो। कब्जा गरिएको तेलको के हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सायद त्यो अब हाम्रै हुनेछ।”
अवैध सञ्जाल र प्रतिबन्ध
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीका अनुसार उक्त ट्याङ्कर विगत धेरै वर्षदेखि अमेरिकी प्रतिबन्धको सूचीमा थियो। भेनेजुएला र इरानसहितका विदेशी आतङ्ककारी सङ्गठनहरूलाई सघाउने अवैध तेल ढुवानी सञ्जालमा संलग्न रहेका कारण यसलाई नियन्त्रणमा लिइएको बोन्डीले स्पष्ट पार्नुभयो।
सामाजिक सञ्जाल एक्स (X) मा एक भिडियो सार्वजनिक गर्दै बोन्डीले एफबीआई (FBI), होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन र अमेरिकी कोस्ट गार्डले संयुक्त रूपमा यो ‘अप्रेसन’ गरेको जानकारी दिनुभयो। भिडियोमा हेलिकप्टरबाट हतियारधारी सुरक्षाकर्मीहरू जहाजको डेकमा ओर्लिएको देखिन्छ। अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाहीमा कुनै मानवीय क्षति भएको छैन।
भेनेजुएलाको आक्रोश: ‘यो अन्तर्राष्ट्रिय डकैती हो’
भेनेजुएला सरकारले अमेरिकी कदमको कडा शब्दमा भर्त्सना गरेको छ। एक विज्ञप्ति जारी गर्दै भेनेजुएलाले यसलाई “अन्तर्राष्ट्रिय समुद्री डकैती” (International Piracy) को सङ्ज्ञा दिएको छ।
“भेनेजुएला विरूद्धको लामो आक्रमणको असली कारण अहिले आएर छर्लङ्ग भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो न आप्रवासनका लागि हो, न लागुऔषध तस्करी रोक्न, न त लोकतन्त्र वा मानवअधिकारका लागि नै हो। यो केवल हाम्रो प्राकृतिक सम्पदा, हाम्रो तेल र ऊर्जा लुट्नका लागि हो।” भेनेजुएलाले यसविरुद्ध अन्तर्राष्ट्रिय निकायमा अपिल गर्ने जनाएको छ।

जहाजको रहस्य र गन्तव्य
‘द स्किपर’ (The Skipper) नाम गरेको उक्त जहाजले भेनेजुएलाको कच्चा तेल बोकेको थियो। क्युबाली दलालहरूमार्फत एसिया पठाउने उद्देश्यले यो जहाज क्युबातर्फ जाँदै गरेको अमेरिकी अधिकारीले बताएका छन्। यसअघि ‘अदिसा’ नाम रहेको यो जहाजले हेजबुल्लाह र इरानको रिभोलुसनरी गार्डलाई सघाएको भन्दै सन् २०२२ मा अमेरिकाले प्रतिबन्ध लगाएको थियो।
स्याटेलाइट तस्बिर र सिपिङ डेटाअनुसार जहाजले आफ्नो वास्तविक लोकेसन लुकाउन ‘स्पूफिङ’ (Spoofing) प्रविधि प्रयोग गरेको थियो। जहाज भेनेजुएलाको बार्सीलोना बन्दरगाह नजिक हुँदा यसको ट्रान्सपोन्डरले भने जहाज ५६० माइल टाढा गुयनाको तटमा रहेको देखाइरहेको थियो। साथै, गुयनामा दर्ता नभए पनि यसले गुयनाको झण्डा प्रयोग गरिरहेको पाइएको छ।
बढ्दो तनाव र सन्दर्भ
यो घटना त्यस्तो समयमा भएको छ जतिबेला भेनेजुएली विपक्षी नेतृ तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना माचाडो देश छाडेर नर्वेको ओस्लो पुगेकी छन्। अमेरिकाले पछिल्ला महिनाहरूमा भेनेजुएलामाथि दबाब बढाउँदै क्यारेबियन क्षेत्रमा हजारौं सैनिक र युद्धपोतहरू परिचालन गरेको छ। अमेरिकी कारबाहीमा हालसम्म ८७ जनाको मृत्यु भइसकेको छ भने लागुऔषध ओसार्ने २३ डुङ्गा नष्ट गरिएको बताइएको छ।
क्युबाका विदेश मन्त्रीले पनि यो घटनालाई “आक्रामक वृद्धि” भन्दै आलोचना गरेका छन्। ऊर्जा सङ्कट र लोडसेडिङसँग जुधिरहेको क्युबाका लागि भेनेजुएलाको तेल महत्त्वपूर्ण मानिन्छ।
