ट्रम्पद्वारा पाकिस्तानको एफ-१६ लडाकु विमान स्तरोन्नति गर्न ६८ करोड ६० लाख डलरको सम्झौता स्वीकृत: के यो भारतका लागि सन्देश हो?

 

वासिङ्टन/इस्लामाबाद । अमेरिकाले पाकिस्तानको एफ-१६ (F-16) लडाकु विमानहरूको मर्मत र उन्नत प्रविधि जडान (स्तरोन्नति) का लागि करिब ६८ करोड ६० लाख डलर (६८६ मिलियन डलर) को सम्झौता स्वीकृत गरेको छ। भारतलाई अमेरिकी हतियार खरिद गर्न दबाब दििरहेको समयमा ट्रम्प प्रशासनले पाकिस्तानसँग यो ठूलो रक्षा सम्झौता अघि बढाएको हो।

यस वर्षको मे महिनामा भारत र पाकिस्तानबीच पाँच दिने युद्ध चलेको थियो। कश्मीरमा विद्रोहीको आक्रमणपछि चर्किएको तनावकै बीच अमेरिकाले पाकिस्तानलाई यो सैन्य सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। यसलाई विश्लेषकहरूले भारतका लागि एक कडा सन्देशको रूपमा व्याख्या गरेका छन्।

अमेरिका र पाकिस्तानबीचको सम्झौतामा के छ?
रक्षा सुरक्षा सहयोग एजेन्सी (DSCA) ले डिसेम्बर ४ मा अमेरिकी कंग्रेसलाई पठाएको विवरण अनुसार, यो सम्झौताले पाकिस्तानको हालको एफ-१६ फ्लिटलाई सहयोग र स्तरोन्नति गर्नेछ।

यस प्याकेजमा एफ-१६ विमानका लागि ६४ करोड ९० लाख डलर बराबरको मर्मत सहयोग र ३ करोड ७० लाख डलर बराबरका प्रमुख रक्षा उपकरण (MDE) समावेश छन्। यसअन्तर्गत:

  • विमानको उडान सञ्चालन र इलेक्ट्रोनिक प्रणालीका लागि हार्डवेयर तथा सफ्टवेयर अपडेटहरू।

  • ९२ वटा ‘लिंक-१६’ (Link-16) सिस्टम, जसले लडाकु विमान, पानीजहाज र जमिनमा रहेका सेनाबीच सुरक्षित रूपमा रियल-टाइम सञ्चार (टेक्स्ट र तस्बिर) गर्न मद्दत गर्छ।

  • शत्रु र मित्र विमान पहिचान गर्ने ‘एडभान्स्ड आईफएफ’ (IFF) प्रणाली।

  • प्रशिक्षण र परीक्षणका लागि ६ वटा एमके-८२ (Mk-82) बमका बडीहरू (विस्फोटक पदार्थ नभएका खाली केसिङहरू)।

अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्थीका अनुसार यो स्वीकृति २०२२ मा भएको मर्मत सम्झौताकै निरन्तरता हो। “राष्ट्रपति बाइडेनदेखि ट्रम्पसम्म आइपुग्दा पनि अमेरिका-पाकिस्तान सम्बन्धमा एफ-१६ को भूमिका निरन्तर छ। दुवै पक्षले यसलाई क्षेत्रीय आतंकवाद विरुद्धको संयुक्त कारबाहीमा उपयोगी मानेका छन्,” डोन्थीले अल जजीरालाई बताए।

भारतमाथि अमेरिकी दबाब र बिग्रँदो सम्बन्ध
यो सम्झौता यस्तो समयमा आएको छ जतिबेला अमेरिका र भारतबीचको सम्बन्धमा केही चिसोपन देखिएको छ। ट्रम्प प्रशासनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी हतियार किन्न दबाब दििरहेको छ।

अगस्टमा भारतले अमेरिकी हतियार र विमान खरिद गर्ने योजना स्थगित गरेको थियो। यसको बदलामा, राष्ट्रपति ट्रम्पले रुसबाट सस्तो कच्चा तेल खरिद गरेको भन्दै भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क (Tariff) लगाउने कार्यकारी आदेश जारी गरे। योसँगै भारतीय आयातमा कुल ५० प्रतिशत भन्सार पुगेको छ। ट्रम्पले रुसको युक्रेनमाथिको कारबाहीलाई “राष्ट्रिय संकट” भन्दै रुसी तेलका मुख्य खरिदकर्ता भारतमाथि कर बढाउनु आवश्यक रहेको बताएका थिए।

यद्यपि, भारतले रुसबाट तेल खरिद जारी राख्ने जनाएको छ र हालै भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ दिल्लीमा इन्धन आपूर्तिका विषयमा छलफल समेत भएको थियो।

मे महिनाको द्वन्द्व र एफ-१६ को भूमिका
गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो। भारतले सो आक्रमणमा पाकिस्तान स्थित लश्कर-ए-तैयबाको हात रहेको आरोप लगाएको थियो, जसलाई इस्लामाबादले अस्वीकार गर्यो।

त्यसपछि मे ७ मा भारतले पाकिस्तानमा मिसाइल आक्रमण गर्यो भने पाकिस्तानले पनि जवाफी कारबाही गर्यो। पाकिस्तानी एयर भाइस मार्शल औरंगजेब अहमदका अनुसार सो हवाई युद्धमा पाकिस्तानले एफ-१६ सहित चिनियाँ जेएफ-१७ र जे-१० जस्ता ४२ वटा अत्याधुनिक विमान प्रयोग गरेको थियो।

पाकिस्तानको शक्ति कति बढ्छ?
विश्लेषक डोन्थीका अनुसार अमेरिकी सहयोगले पाकिस्तानलाई २०४० सम्म आफ्नो एफ-१६ विमानहरू सञ्चालन गर्न मद्दत पुग्नेछ। यद्यपि, पाकिस्तानले हाल ८० प्रतिशतभन्दा बढी हतियार चीनबाट खरिद गर्दै आएको छ।

भारतले भने पाकिस्तानलाई दिइने एफ-१६ सहयोगको सधैं विरोध गर्दै आएको छ। भारतको दाबी छ कि यी विमानहरू आतंकवाद विरुद्ध नभई भारत विरुद्ध प्रयोग गरिन्छन्। तर, वासिङ्टनले यो बिक्रीले “क्षेत्रीय सैन्य सन्तुलनमा कुनै परिवर्तन नल्याउने” दाबी गरेको छ।

यो प्रकरणले अमेरिकाले एकैसाथ पाकिस्तानसँगको सम्बन्ध सुधार गर्ने र भारतलाई आफ्नो रणनीतिक स्वार्थ अनुरुप हिँडाउन दबाब दिने नीति लिएको स्पष्ट हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *