थाइल्याण्डमा संसद् विघटन : आगामी वर्षको सुरुमै आम निर्वाचन हुने
काठमाडौँ, मंसिर २६ । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटनको घोषणा गर्दै आगामी वर्षको सुरुवातमै हुने आम निर्वाचनका लागि मार्ग प्रशस्त गर्नुभएको छ । छिमेकी मुलुक क्याम्बोडियासँग जारी सीमा विवाद र बढ्दो सुरक्षा संवेदनशीलताका बीच प्रधानमन्त्रीले यो राजनीतिक कदम चाल्नुभएको हो । सरकारी राजपत्रमा प्रकाशित सूचना अनुसार, मुलुकले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र वर्तमान परिस्थितिमा स्थिर एवं प्रभावकारी प्रशासन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले नयाँ निर्वाचनमा जानु नै उपयुक्त विकल्प ठानिएको छ ।
थाइल्याण्डको संवैधानिक व्यवस्थाअनुसार संसद् विघटन भएको ४५ देखि ६० दिनभित्र आम निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । जसअनुसार आगामी जनवरीको अन्त्य वा फेब्रुअरीको पहिलो साताभित्र मतदान हुने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री अनुटिनले ‘सत्ता जनतामै फर्काउने’ उद्देश्य र सत्ता गठबन्धनका साझेदारहरूको सुझावलाई सम्मान गर्दै संसद् विघटनको निर्णय लिइएको बताउनुभएको छ । आफ्नो तीन महिने कार्यकालमा उहाँले सीमा सुरक्षा सुदृढीकरण र म्यानमारबाट आएका शरणार्थीहरूको व्यवस्थापन जस्ता जटिल मुद्दाहरूलाई प्राथमिकतामा राख्नुभएको थियो ।
पछिल्लो समय क्याम्बोडियासँगको सीमा विवाद निकै चर्किएको छ । दुई देशबीचको झडपमा हवाई आक्रमण र ट्याङ्क समेत प्रयोग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस द्वन्द्वका कारण हालसम्म कम्तीमा २० जनाको ज्यान गइसकेको छ भने करिब ६ लाख नागरिक विस्थापित भएका छन् । जसमध्ये अधिकांश थाइल्याण्डका नागरिक रहेका छन् । दुवै देशले हिंसा भड्किनुमा एक-अर्कालाई जिम्मेवार ठहराउँदै आएका छन् ।
