मानसिक स्वास्थ्य

गण्डकीमा मानसिक स्वास्थ्यका बिरामी बढ्दै : विशिष्टिकृत अस्पताल छैन

काठमाडौँ, मंसिर २७ । गण्डकी प्रदेशमा मनोसामाजिक समस्याबाट पीडित हुनेहरूको सङ्ख्या तीव्र गतिमा बढे पनि उपचारका लागि भरपर्दो संरचनाको अभाव देखिएको छ । प्रदेशभित्र मानसिक रोगको निदान र विशिष्टिकृत उपचार सेवा दिने छुट्टै सरकारी अस्पताल नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

प्रदेशका अन्य अस्पतालहरूमा पनि दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सकको अभाव खड्किएको छ । दक्ष जनशक्ति र अस्पतालको अभावमा दूरदराजका बिरामीहरू सामान्य उपचारका लागि पनि महँगो शुल्क तिरेर काठमाडौँ धाउन बाध्य छन् । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले प्रदेशमा हालसम्म एउटा पनि मानसिक अस्पताल नरहेको तथ्य स्वीकार गर्नुभयो ।

मन्त्री पाठकका अनुसार प्रदेशमा मानसिक स्वास्थ्यको अवस्था भयावह बन्दै गएको छ। उपलब्ध तथ्याङ्क अनुसार गण्डकीमा मानसिक समस्याकै कारण दैनिक औसतमा दुई जनाले आत्महत्या गर्ने गरेका छन् । यो गम्भीर अवस्थालाई मध्यनजर गर्दै प्रदेशमा सुविधासम्पन्न र विशिष्टिकृत मानसिक अस्पतालको आवश्यकता टड्कारो देखिएको उहाँले औँल्याउनुभयो ।

मानसिक स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि पोखरामा ‘मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र’ स्थापना गर्ने योजना अघि सारिएको थियो। स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति कास्कीबीच पोखराको सिर्जनाचोकस्थित समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्न गत वर्षदेखि नै पहल भइरहेको छ ।

गत वर्ष सङ्घीय स्वास्थ्य मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य सचिव तथा अन्य उच्चपदस्थ अधिकारीहरूबिचको बैठकले केन्द्र निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। मन्त्री पाठकले उक्त केन्द्रलाई केवल बिरामी जाँच्ने अस्पतालका रूपमा मात्र नभई, परामर्श र समग्र मानसिक स्वास्थ्य सुधार गर्ने एक विशिष्ट केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । यद्यपि, निरन्तरको छलफल र पहलका बाबजुद उक्त योजनाले अझै सार्थकता पाउन सकेको छैन ।