बर्लिनमा जेलेन्स्की र ट्रम्पका विशेष प्रतिनिधि बिच भेटवार्ता हुँदै
काठमाडौँ, मंसिर २७ । युक्रेनमा जारी युद्ध अन्त्यका लागि युद्धविरामको सम्भावना खोजी गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफ र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बर्लिनमा भेटवार्ता हुने भएको छ । यसै सप्ताहन्तमा हुने उक्त उच्चस्तरीय भेटमा विटकोफले जेलेन्स्कीका साथै अन्य युरोपेली नेताहरूसँग पनि छलफल गर्नुहुने ह्वाइट हाउसले जनाएको छ ।
कूटनीतिक पहल भइरहँदा रुसले भने युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएको छ । शुक्रबार राति रुसले ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ प्रयोग गरी युक्रेनका ऊर्जा केन्द्रहरूमा व्यापक आक्रमण गरेको थियो । यसका कारण हजारौँ नागरिक विद्युत् सेवाबाट वञ्चित भएका छन् । शनिबार मात्रै सुमी क्षेत्रमा भएको रुसी गोलाबारीमा एक ८० वर्षीया वृद्धाको मृत्यु भएको छ ।
राष्ट्रपति जेलेन्स्कीले रुसको नियत अझै पनि युक्रेनलाई ध्वस्त पार्ने र नागरिकलाई अधिकतम पीडा दिने रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ, “रुसका गतिविधि युद्ध अन्त्य गर्ने नभई यसलाई थप भड्काउनेतर्फ केन्द्रित छन् । उनीहरू हाम्रो राज्यलाई नष्ट गर्न चाहन्छन् ।”
राष्ट्रपति ट्रम्पले गत महिना सार्वजनिक गर्नुभएको २८ बुँदे युद्ध अन्त्य गर्ने योजनामा युक्रेनलाई महत्त्वपूर्ण भूभाग छोड्न दबाब दिइएको भन्दै आलोचना भएको थियो । यसलाई लिएर किएभले आफ्नो संशोधित प्रस्ताव वाशिङ्गटन पठाएको छ । युरोपेली र युक्रेनी अधिकारीहरूले कुनै पनि क्षेत्रीय सम्झौता गर्नुअघि अमेरिकाले ‘सुरक्षा सुनिश्चितता’ प्रदान गर्नुपर्ने माग गरिरहेका छन् ।
अमेरिकी योजनाको पछिल्लो संस्करणमा सन् २०२७ को जनवरीसम्म युक्रेनलाई युरोपेली सङ्घ (इयू) मा सहभागी गराउने प्रस्ताव समावेश गरिएको छ । तर, हङ्गेरी लगायतका केही सदस्य राष्ट्रले यसको विरोध गर्दै आएका छन् । जेलेन्स्कीले इयू सदस्यताको विरोध गर्ने नेताहरूलाई मनाउन ट्रम्पले आफ्नो प्रभाव प्रयोग गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
जर्मन चान्सलर फ्रेडरिक मर्जसँग जर्मन–युक्रेनी व्यापार फोरममा सहभागी भएपछि सोमबार बर्लिनमा अर्को महत्त्वपूर्ण बैठक हुँदैछ । जर्मन सरकारका अनुसार सोमबार इयू र नेटोका प्रमुखहरूसहितका नेताहरूको उपस्थितिमा थप छलफल हुनेछ ।
