हुम्लाको सर्केगाडमा घरमाथि ढुङ्गा खस्दा ४ जना घाइते, एकको अवस्था गम्भीर

हुम्ला, २ पुस । हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित बजारमा घरमाथि ढुङ्गा खस्दा चार जना घाइते भएका छन् ।

गएराति स्थानीय दनबहादुर रावतको कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा कोठामा सुतिरहेकाहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा २८ वर्षीया सरिता विक, २१ वर्षीया लालसरा विक, ६ वर्षीया रेविका विक र प्रवीणा विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार सरिता विकको अवस्था गम्भीर भएकाले थप उपचारका लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ भने अन्य तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

बस्तीमाथि भिरालो वन रहेकाले सो क्षेत्र निरन्तर ढुङ्गा खस्ने जोखिममा रहेको स्थानीयले बताएका छन् ।