बागमती प्रदेशले ५ महिनामा उठायो १६ अर्ब ११ करोड राजस्व
काठमाडाैं, ३ पुस । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १६ अर्ब ११ करोड ७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो वार्षिक लक्ष्यको २३.८८ प्रतिशत हो ।
प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयका अनुसार मुख्य आयस्रोत मानिने घरजग्गा रजिष्ट्रेशन (मालपोत) बाट १ अर्ब ६६ करोड र सवारी साधन करबाट २ अर्ब ९५ करोड रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबापत ५ अर्ब ६८ करोड प्राप्त भएको छ ।
आर्थिक तरलताका कारण घरजग्गा तथा सवारी कारोबारमा मन्दी छाउनु र गत भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनका कारण राजस्व सङ्कलन गर्ने निकायमा क्षति पुग्दा लक्ष्यअनुसार राजस्व उठ्न नसकेको जनाइएको छ ।