ढाकामा तनाव: मिडिया हाउसमा आगजनी, ‘डेली स्टार’ र ‘प्रथम आलो’ को प्रकाशन बन्द

ढाका, ४ पुस । इन्किलाब मोन्चोका नेता सरिफ उस्मान बिन हादीको निधनपछि बंगलादेशको राजधानी ढाकामा तनाव सिर्जना भएको छ। विरोध प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रतिष्ठित मिडिया हाउसहरू र ऐतिहासिक संरचनाहरू निशानामा परेका छन्।

प्रदर्शनकारीहरूले बंगलादेशका प्रतिष्ठित दैनिक पत्रिकाहरू ‘द डेली स्टार’ र ‘प्रथम आलो’ का कार्यालयहरूमा आक्रमण गरेका छन्। एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरू राष्ट्रपिता शेख मुजीबुर रहमानको आंशिक रूपमा ध्वस्त घरमा पुगेर तोडफोडको प्रयास गर्नुका साथै पूर्व प्रधानमन्त्री शेख हसिनाको पोस्टर जलाउने प्रयास गरेका थिए।

‘द डेली स्टार’ को कार्यालयमा भएको तोडफोड र आगजनीका कारण पत्रकारहरूले निकै कष्टप्रद स्थिति भोग्नुपर्यो। भीडले भुइँतलामा आगो लगाएपछि बाक्लो धुवाँका कारण भवनबाट बाहिर निस्कन नसकेका पत्रकारहरू १० औँ तलाको छतमा शरण लिन बाध्य भएका थिए। पछि अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिई छतमा फसेकाहरूको सकुशल उद्धार गरेका थिए।

घटनापछि उत्पन्न असुरक्षा र क्षतिका कारण शुक्रबार ‘प्रथम आलो’ र ‘द डेली स्टार’ दुवै पत्रिका प्रकाशित नहुने जनाइएको छ।

देशभर अशान्ति फैलिँदै गएपछि इन्किलाब मोन्चोले फेसबुकमार्फत एक विज्ञप्ति जारी गर्दै आम नागरिकलाई संयम अपनाउन आग्रह गरेको छ। संगठनले तोडफोड र आगजनीले देशको सार्वभौमसत्ता कमजोर पार्ने र बंगलादेशलाई अप्रभावी राज्य बनाउने षड्यन्त्र हुन सक्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *