कञ्चनपुरमा शीतलहरबाट करिब ९ हजार परिवार प्रभावित हुने अनुमान
कञ्चनपुर, ४ पुस । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यस वर्षको शीतलहरबाट जिल्लाका ८ हजार ८७५ परिवार प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार, सम्भावित जोखिम न्यूनीकरणका लागि ‘शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना’ तयार पारिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकामा १,५५० र भीमदत्त नगरपालिकामा १,३५० परिवार प्रभावित हुने अनुमान छ। यस्तै बेदकोट, कृष्णपुर, बेलडाँडी, पुनर्वास, दोधारा चाँदनी, बेलौरी र लालझाडी गाउँपालिकामा पनि सयौँ परिवार जोखिममा रहेको जनाइएको छ।
प्रतिकार्य योजनाअनुसार राहत वितरणमा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई विशेष प्राथमिकता दिइनेछ। साथै, जाडोयाममा हुने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा स्वास्थ्यकर्मी र औषधिलाई तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।