अमेरिकाद्वारा ‘डीभी लटरी’ योजना स्थगित

काठमाडौँ, ४ पुस । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ (डीभी) योजना स्थगित गर्ने निर्णय गरेको छ।

ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डमा संलग्न संदिग्ध व्यक्ति डीभीमार्फत नै अमेरिका प्रवेश गरेको खुलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कार्यक्रम रोक्ने निर्णय गरेका हुन्।

ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गरी भएको गोलीकाण्डका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत फेला परेका थिए। उनी सन् २०१७ मा डाइभर्सिटी भिसा (डीभी) मार्फत अमेरिका आएर ग्रीन कार्ड प्राप्त गरेका थिए। भालेन्तेले एमआईटीका प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको आशंका गरिएको छ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा भिसा योजना स्थगित गरिएको जानकारी दिइन्। उनले अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न र थप हानि हुन नदिन यो कदम चालिएको स्पष्ट पारेकी छन्।

यस कार्यक्रमअन्तर्गत अमेरिकाले बर्सेनि ५० हजार भिसा चिठ्ठा प्रणालीमार्फत उपलब्ध गराउँदै आएको थियो, जसमा नेपालीहरूको पनि उल्लेख्य सहभागिता रहने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *