राष्ट्रसङ्घको महासभाबाट योग र ध्यानलाई आधुनिक स्वास्थ्य पद्धतिको पूरकका रूपमा स्वीकार

नेपालसहित विश्वभर आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

काठमाडौँ,  पुस ६ ।  संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज डिसेम्बर २१ तारिखका दिन नेपालसहित विश्वभर ‘विश्व ध्यान दिवस’ विविध कार्यक्रमका साथ मनाइँदै छ । राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई आधुनिक स्वास्थ्य पद्धतिको पूरकका रूपमा स्वीकार गर्दै यो दिवस मनाउने निर्णय गरेको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्ने उद्देश्यसहित सन् २०१४ देखि नै यो दिवसको प्रस्ताव अघि बढाइएको थियो । नेपालसहित १८ मुलुकको ११ वर्षको निरन्तर प्रयासपछि गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसङ्घको महासभाले डिसेम्बर २१ लाई आधिकारिक रूपमा ‘विश्व ध्यान दिवस’ को मान्यता दिएको थियो । सोही मान्यता अनुरूप गत वर्षदेखि नेपाल सरकारले नै औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरेको हो ।

यस विशेष अवसरमा आज मुलुकभर विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा आज बिहान टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दक्षिणकाली नगरपालिका-१, बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यान सम्बन्धी अन्तरक्रिया तथा सामूहिक ध्यान कार्यक्रम तय गरिएको छ ।

दिवसको अवसरमा विभिन्न योग तथा आध्यात्मिक संघसंस्थाहरूले पनि देशभरि प्रभातफेरी, प्रवचन र ध्यान शिविरहरू सञ्चालन गरिरहेका छन् ।

ध्यानले मानसिक शान्ति, शारीरिक स्वास्थ्य र सकारात्मक सोच विकासमा ठूलो सहयोग पुर्‍याउने विश्वासका साथ पछिल्लो समय विश्वभर यसको लोकप्रियता बढ्दै गएको छ ।