मियामी वार्ता त्रिपक्षीय नभएको रूसको स्पष्टोक्ति : गम्भीर छलफल नभएको क्रेमलिनको दाबी

काठमाडौँ, पुस ६ । क्रेमलिनले युक्रेन, रूस र संयुक्त राज्य अमेरिका बिच मियामीमा त्रिपक्षीय वार्ता हुने सम्भावनालाई अस्वीकार गरेको छ । युक्रेन द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास स्वरूप विभिन्न देशका प्रतिनिधिहरू अमेरिकाको मियामीमा भेला भइरहेका बेला रूसको यस्तो प्रतिक्रिया आएको हो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका विदेश नीति सल्लाहकार युरी उशाकोभले आइतबार पत्रकारहरूसँग कुरा गर्दै त्रिपक्षीय वार्ताको विषयमा हालसम्म कुनै गम्भीर छलफल नभएको र त्यस्तो कुनै तयारी पनि नरहेको स्पष्ट पार्नुभयो । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले त्रिपक्षीय वार्ताको प्रस्ताव अघि सारेको उल्लेख गर्दै यसबाट नयाँ परिणाम आउन सक्ने आशा व्यक्त गर्नुभएको थियो । यद्यपि, जेलेन्स्कीले रूसले युक्रेनी पूर्वाधारमा गरिरहेको निरन्तर आक्रमणका कारण मस्कोबाट सकारात्मक सङ्केत नआएको भन्दै संशय समेत व्यक्त गर्नुभएको छ ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नरको मध्यस्थतामा हुन लागेको यस वार्ताका लागि रूसी विशेष प्रतिनिधि किरिल दिमित्रीएभ शनिबार मियामी पुग्नुभएको छ । उहाँले त्यहाँ अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । सल्लाहकार उशाकोभका अनुसार दिमित्रीएभले अमेरिकी पक्षसँगको वार्तापछि मस्को फर्किएर प्रतिवेदन बुझाउनुहुनेछ र त्यसपछि मात्र रूसले आगामी कदमबारे निर्णय लिनेछ ।

युक्रेनी र युरोपेली टोलीहरू पनि शुक्रबारदेखि नै मियामीमा केन्द्रित छन् । तर, मस्को र किएभबीच प्रत्यक्ष वार्ता हुने वा नहुने भन्नेमा अझै अन्योल कायम छ । यदि वार्ता भएमा यो विगत छ महिनायताकै पहिलो आमनेसामने संवाद हुनेछ ।

अमेरिकाले गत महिना युक्रेन युद्ध अन्त्यका लागि २८ बुँदे योजना प्रस्तुत गरेको थियो । सुरुवाती मस्यौदामा रूसका मागहरूप्रति लचिलो देखिएको भनिएको उक्त योजनालाई किएभ र युरोपेली देशहरूको सुझावपछि पुनः मस्यौदा गरिएको छ ।

पछिल्लो प्रस्तावित योजनाअनुसार युक्रेनले अमेरिकी सुरक्षा ग्यारेन्टी (प्रत्याभूति) को बदलामा केही क्षेत्र रूसलाई सुम्पिनुपर्ने हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यस विषयमा युक्रेनी नागरिकहरूमा असन्तुष्टि पैदा हुनसक्ने देखिएको छ ।

यसैबीच, रूसले पूर्वी मोर्चामा आफ्नो सैन्य गतिविधि तीव्र पार्दै क्षेत्रीय लाभ हासिल गरिरहेको दाबी गरेको छ । राष्ट्रपति पुटिनले शुक्रबार मात्रै रूसी सेनाले हात पारेको सफलताको प्रशंसा गर्नुभएको थियो, जसले वार्ताको टेबलमा रूसको अडानलाई थप कडा बनाउन सक्ने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *