१५औँ महाधिवेशन सकेर मात्रै निर्वाचनमा जानुपर्छ : महामन्त्री गगन थापा

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टी कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीलाई नयाँ जीवन दिएर मात्रै चुनावमा होमिनुपर्ने बताउनुभएको हो ।

महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसकेको खण्डमा ‘विशेष महाधिवेशन’ गरेर भए पनि निर्वाचनमा जानुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टीको केन्द्रीय समितिको बैठकलाई अनावश्यक लम्ब्याएर महाधिवेशन टार्न खोजिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि समेत व्यक्त गर्नुभयो । “बदलिएको कांग्रेसले मात्रै देश बदल्न सक्छ, त्यसैले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

थापाले संविधानलाई सही दिशामा ल्याउन आगामी फागुन २१ गतेको निर्वाचन महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । यदि उक्त समयमा निर्वाचन नभए देश फेरि अनिश्चिततातर्फ धकेलिने उहाँको चेतावनी थियो । “संविधानलाई सही मार्गमा डोर्‍याउने प्रमुख जिम्मेवारी कांग्रेसकै हो,” उहाँले थप्नुभयो ।

नागरिकमा व्याप्त असन्तुष्टि र आक्रोशलाई ‘जेनजी’ आन्दोलनले प्रतिविम्बित गरेको उल्लेख गर्दै महामन्त्री थापाले दलहरू समयमै सच्चिनुपर्ने बताउनुभयो । जनताले भ्रष्टाचार र कुशासनको अन्त्य चाहेको भन्दै उहाँले कांग्रेस अब दलीयकरणको अन्त्य र सुशासनको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो ।