नेपाल एपीएफ अस्पतालको काँचुली फेरिँदै: ३०० शय्यासहित सेवा विस्तार, चिकित्सा शिक्षा पनि सुरु

काठमाडौँ, ७ पुस । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय अस्पताल (नेपाल एपीएफ अस्पताल) ले आफ्नो सेवालाई व्यापक बनाउँदै ३०० शय्यामा विस्तार गरेको छ। बलम्बुस्थित यस अस्पतालले बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी र उनीहरूका आश्रित परिवारका साथै सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ पूर्वाधार र सेवा थप गरेको हो।

अस्पतालको स्तरवृद्धिको योजनाअनुसार पछिल्लो तीन वर्षमा दुई वटा आधुनिक ‘मोड्युलर अप्रेशन थियटर’ र ‘सहवीर थापा अन्कोलोजी युनिट’ (क्यान्सर उपचार एकाइ) सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

चालु आर्थिक वर्षदेखि अस्पतालले प्राज्ञिक क्षेत्रमा पनि पाइला चालेको छ। अस्पताल परिसरमै ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याइएको छ, जहाँ यसै शैक्षिक सत्रदेखि प्रवीणता प्रमाणपत्र तह (नर्सिङ) को अध्ययन सुरु भएको छ। हाल ४० जना विद्यार्थीले नर्सिङ अध्ययन गरिरहेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) सँगको समन्वयमा उच्च तहको चिकित्सा शिक्षा सञ्चालन गर्ने सम्झौता समेत भइसकेको छ।

अस्पतालले जलन (Burn) सम्बन्धी उपचारका लागि विशेष युनिट सञ्चालनको तयारी गरेको छ। यसका लागि २२ जना स्वास्थ्यकर्मीलाई कीर्तिपुरस्थित जलन अस्पतालमा विशेष तालिम दिइएको छ। यस्तै, दुर्गममा रहेका सशस्त्रका इकाइहरू र अस्पतालसम्म आउन नसक्ने बिरामीका लागि ‘टेलिमेडिसिन’ सेवा समेत सञ्चालन भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

सशस्त्र प्रहरीले काठमाडौँ बाहिरका स्वास्थ्य सेवालाई पनि थप व्यवस्थित बनाएको छ। कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै प्रदेशमा रहेका फिल्ड अस्पतालहरूलाई अब स्थायी संरचनामा लगिने भएको छ। यसअघि निरीक्षक (इन्स्पेक्टर) ले नेतृत्व गर्ने यी अस्पतालहरूको कमाण्ड अब प्रहरी नायब उपरीक्षक (डीएसपी) स्तरका चिकित्सकले गर्ने गरी जिम्मेवारी तोकिएको छ।

अस्पताल परिसरमै बिरामी र कर्मचारीका लागि सःशुल्क फार्मेसी र दैनिक उपभोग्य सामग्री पाइने ‘सुपथ मूल्य क्यान्टिन’ सञ्चालनमा ल्याइएको छ। उपचारमा आउने बिरामीका आफन्तका लागि ‘कुरुवा घर’ र पुनस्र्थापना केन्द्र जस्ता भौतिक संरचना निर्माणको प्रक्रिया समेत अघि बढाइएको छ।