लहान नगरपालिकाका २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार
काठमाडौँ, पुस ७ । सिरहाको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँचमा उल्लेख्य सुधार आएको छ । दलित कल्याण युवा क्लब लहानको १९औँ वार्षिक सामाजिक लेखापरीक्षण कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार, नगरपालिकाका कुल घरधुरीमध्ये २६ प्रतिशतमा सुरक्षित खानेपानीको पहुँच पुगेको हो ।
नगरपालिका, नेपाल खानेपानी संस्थान, वाटर एड नेपाल र दलित कल्याण युवा क्लबको साझेदारीमा सञ्चालित ‘द विकन’ परियोजनामार्फत यो उपलब्धि हासिल भएको हो । परियोजनाका कार्यक्रम प्रबन्धक राजेशकुमार लोहनीका अनुसार सन् २०२४ मार्चदेखि २०२५ मार्चसम्म ३ सय दलित घरधुरीमा धारा जडान गरिएको छ, जसबाट १ हजार ५०६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । हालसम्म अन्य समुदायसमेत गरी कुल ५ हजार ४०० घरधुरीमा खानेपानीको धारा जडान भइसकेको छ ।
खानेपानीको विस्तारसँगै विद्यालय र स्वास्थ्य संस्थाको सरसफाइ तथा स्वच्छताको क्षेत्रमा पनि सुधार आएको छ । यस वर्ष ९ वटा विद्यालयमा सुरक्षित खानेपानी र लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएका छन्, जसबाट २ हजार ६२८ विद्यार्थी लाभान्वित भएका छन् । यस्तै, दुई वटा स्वास्थ्य संस्थामा भौतिक संरचना सुधार गरिएपछि मासिक १ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । विद्यालयमा खानेपानी र सरसफाइको अवस्था सुधार गर्न ‘तीन तारा पद्धति’ प्रमाणीकरण समेत सुरु गरिएको छ, जसअन्तर्गत ७ वटा विद्यालयले ‘एक तारा’ प्रमाणपत्र प्राप्त गरेका छन् ।
परियोजना कार्यान्वयनका लागि स्थानीय सरकारको पनि सक्रिय सहभागिता रहेको छ । नगरपालिकाका विभिन्न वडा र नगर कार्यपालिकाले दलित घरधुरीमा धारा जडानका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । नगरपालिकाले मात्रै २७७ दलित घरधुरीका लागि १० लाख ३० हजारभन्दा बढी रकम सहयोग गरेको छ ।
क्लबका कार्यकारी निर्देशक विनोद विसुङ्केका अनुसार विद्यालयहरूमा सञ्चालित स्वस्थकर व्यवहार परिवर्तन कक्षाका कारण विद्यार्थीहरूको नियमित उपस्थिति बढेको छ भने साबुनपानीले हात धुने बानीमा सुधार आएको छ । सन् २०१८ देखि सञ्चालित यस परियोजनाले आगामी आर्थिक वर्षमा थप ४ वटा विद्यालय, १ स्वास्थ्य संस्था र ४०० दलित परिवारमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।