लेबनानबाट राष्ट्रसङ्घीय शान्ति सेना बाहिरिए पनि इटालीले सैन्य उपस्थिति कायम राख्ने
काठमाडौँ, पुस ७ । संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (युनिफिल) को म्याद सन् २०२६ डिसेम्बर ३१ पछि समाप्त हुने तय भए तापनि इटालीले लेबनानमा आफ्नो सैन्य उपस्थिति कायम राख्ने घोषणा गरेको छ । लेबनानको औपचारिक भ्रमणका क्रममा इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले उक्त जानकारी दिनुभएको हो ।
रक्षामन्त्री क्रोसेटोले युनिफिलको बहिर्गमन पश्चात् पनि इटालीले लेबनानमा आफ्नो भूमिका निर्वाह गरिरहने र अन्तर्राष्ट्रिय उपस्थितिलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो । उहाँका अनुसार आगामी दिनमा इटालीले विशेष गरी लेबनानी सशस्त्र बल (LAF) को क्षमता अभिवृद्धि र सुदृढीकरणमा केन्द्रित रहेर सहयोग गर्नेछ । “लेबनानी सशस्त्र बललाई बलियो बनाउन आवश्यक छ, ताकि उनीहरू आफ्नो देशको रक्षा र सीमा सुरक्षा सुनिश्चित गर्न सक्षम होऊन्,” मन्त्री क्रोसेटोले भन्नुभयो, “हामी बहुपक्षीय र द्विपक्षीय संयन्त्रमार्फत लेबनानमा हाम्रो उपस्थिति सुनिश्चित गर्नेछौँ ।”
सन् १९७८ देखि इजरायल र लेबनानबीचको मध्यवर्ती सीमा क्षेत्रमा कार्यरत युनिफिलको म्याद थप नगर्न इजरायल र अमेरिकाले दबाब दिँदै आएका थिए । सोही पृष्ठभूमिमा गत अगस्टमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अन्तिम पटकका लागि यसको म्याद थप गर्ने निर्णय गरेको थियो ।
हाल युनिफिलको नेतृत्व इटालीका मेजर जनरल डियोडाटो अबग्नाराले गरिरहनुभएको छ। ४९ राष्ट्रका ९ हजार ९२३ सैनिक सम्मिलित यस शान्ति मिसनमा इन्डोनेसियापछि इटालीको सबैभन्दा ठूलो सहभागिता रहेको छ । इटालीका १ हजार ९९९ सैनिक हाल लेबनानमा तैनाथ छन् ।
इजरायल र हिजबुल्लाह बिचको हालैको युद्धविराम पश्चात् लेबनानी राष्ट्रिय सेनाले दक्षिणी लेबनानमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । यस्तो अवस्थामा इटालीले लेबनानी सेनालाई थप सक्षम बनाउन आफ्नो सैन्य सहयोग जारी राख्ने नीति लिएको हो ।
