बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

एजेन्सी, १० पुस । गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ ।

बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालुहरू भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणसँगै सुरु भएको द्वन्द्वका कारण विगतका वर्षहरूमा बेथलेहेमको क्रिसमस उत्सव शोक र मौनताले ढाकिएको थियो । तर यस वर्ष गाजामा लागू गरिएको नाजुक युद्धविरामको सन्दर्भमा वेस्ट बैंकको यस सहरमा परेड, सङ्गीत र प्रार्थनासहित उत्सवको माहोल पुनः फर्किएको देखियो ।

मध्यरातभन्दा अघि नै चर्च अफ द नेटिभिटी श्रद्धालुहरूले भरिएको थियो । राति ११ः१५ बजे अङ्ग सङ्गीत (ओर्गान म्युजिक) को धुनसँगै पादरीहरूको जुलुस सुरु भयो । जेरुसेलमका ल्याटिन प्याट्रिआर्क कार्डिनल पियरबेटिस्टा पिज्जाबालाले क्रसको सङ्केत गर्दै उपस्थित श्रद्धालुहरूलाई आशीर्वाद प्रदान गर्नुभयो ।

धर्मोपदेशमा उहाँले शान्ति, आशा र पुनर्जन्मको सन्देश दिनुहुँदै क्रिसमसको कथाले आजको अशान्त विश्वमा पनि गहिरो अर्थ राख्ने बताउनुभयो । “क्रिसमसले हामीलाई प्रभुत्वभन्दा माथि उठेर प्रेम, एकता र न्यायको शक्ति पुनः चिन्ने अवसर दिन्छ”, उहाँले भन्नुभयो । हालै युद्धग्रस्त गाजाको भ्रमणको स्मरण गर्दै उहाँले युद्धविरामका बाबजुद पनि पीडा अझै बाँकी रहेको उल्लेख गर्नुभयो, तर त्यहाँका मानिसहरूको साहस र फेरि उठ्ने इच्छाले आफूलाई प्रेरित गरेको पनि बताउनुभयो ।

स्थानीय बासिन्दाहरूले क्रिसमस उत्सवको पुनरागमनले सहरमा जीवन र आशा फर्किने विश्वास व्यक्त गरेका छन् । छिमेकी सहर बेत जालाका जर्ज हन्नाले ‘उत्सवबिनाको क्रिसमस कल्पना गर्नै सकिँदैन’ भन्नुभयो ।

इटालियन तीर्थयात्री कार्मेलिना पिडिमोन्टेले बेथलेहेमको दृश्यले आफूलाई गहिरो आशा दिएको बताउँदै ‘हृदयमा प्रेम भए युद्धबिनाको संसार सम्भव छ’ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *