काठमाडौँ महानगरको नगर सभामा उपप्रमुख डंगोलद्वारा खर्च र आम्दानीको विवरण पेश : बजेट संशोधन प्रस्ताव पारित
काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिकाको १८औँ नगर सभाले विनियोजन ऐनको पहिलो संशोधन र चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सम्पन्न सभामा उपप्रमुख एवं बजेट तर्जुमा समिति संयोजक सुनिता डंगोलले प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव र वित्तीय प्रतिवेदनमाथि छलफल गर्दै सभाले ९ वटा कार्यसूची पारित गरेको हो ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सफल बनाउन बजेट परिमार्जन; पुस ९ सम्म १८.४८ प्रतिशत खर्च भएको जानकारी
सभामा ‘काठमाडौँ महानगरपालिका विनियोजन ऐन, २०८२ मा पहिलो संशोधन विधेयक’ र कार्यक्रम संशोधन प्रस्ताव पेश गर्दै उपप्रमुख डंगोलले स्वीकृत नीति तथा कार्यक्रमको लक्ष्य हासिल गर्न बजेट हेरफेर आवश्यक देखिएको स्पष्ट पार्नुभयो ।
“केही योजनाहरू बहुवर्षीय प्रकृतिका भएकाले, कतिपयमा आर्थिक कार्यविधिअनुसार समय लाग्ने देखिएकाले र कतिपय अत्यावश्यक नयाँ कार्यक्रमका लागि स्रोत सुनिश्चित गर्नुपर्ने भएकाले यो संशोधन ल्याइएको हो,” उपप्रमुख डंगोलले भन्नुभयो । उहाँका अनुसार विनियोजित बजेटमध्ये कार्यान्वयन हुन नसक्ने योजनाबाट बचत हुने रकमलाई प्रभावकारी र प्राथमिकताका क्षेत्रमा परिचालन गरिनेछ ।
उपप्रमुख डंगोलले सभामा पेश गर्नुभएको विवरणअनुसार पूर्वाधार विकास क्षेत्रमा १२ अरब ९ करोड ४५ लाख ६० हजार रुपियाँ, सामाजिक विकास क्षेत्रमा ५ अरब ८० करोड ४१ हजार रुपियाँ, आर्थिक विकास क्षेत्रमा ६७ करोड ६३ लाख ४ हजार रुपियाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अरब ४१ करोड ९७ लाख २२ हजार रुपियाँ कायम गरिएको छ ।
वित्तीय प्रगतिबारे जानकारी दिँदै डंगोलले चालु आर्थिक वर्षको पुस ९ गतेसम्ममा ४ अरब ६४ करोड ३४ लाख ७१ हजार रुपियाँ (कुल बजेटको १८.४८ प्रतिशत) खर्च भएको विवरण पेश गर्नुभयो । यसमध्ये चालु खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत रहेको छ । विभागगत रूपमा सबैभन्दा बढी प्रशासन विभागले ४६.५९ प्रतिशत खर्च गरेको जानकारी पनि उहाँले दिनुभयो ।
आम्दानीतर्फ महानगरले पुस ९ गतेसम्म ४ अरब २१ करोड १३ लाख ६७ हजार रुपियाँ (लक्ष्यको २७.८६ प्रतिशत) राजस्व संकलन गरेको छ । यसमा आन्तरिक आयतर्फ २ अर्ब ६७ करोड ७३ लाख ८८ हजार रुपियाँ संकलन भएको उपप्रमुख डंगोलले जानकारी दिनुभयो । महानगरले यो वर्ष कुल १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।
सभाले २६ करोड ३९ लाख ५१ हजार ७३४ रुपियाँ बराबरको बेरुजु नियमित तथा समपरीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै, महानगर प्रहरी ऐन २०८०, सहकारी ऐन २०७४ र भवन निर्माण मापदण्ड २०८० का संशोधन विधेयकहरू पनि सभाबाट पारित भएका छन् ।
महानगरको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसहित १८औँ नगर सभा सम्पन्न भएको छ ।