सिरियाको मस्जिदमा भएको आतङ्कवादी आक्रमण ‘अस्वीकार्य’ – संयुक्त राष्ट्रसङ्घ

काठमाडौँ, पुस १२ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको होम्सस्थित एक मस्जिदमा शुक्रबारको प्रार्थनाका क्रममा भएको घातक आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले नागरिक र धार्मिक स्थलहरूमा गरिने यस्ता आक्रमणहरू कुनै पनि हालतमा ‘अस्वीकार्य’ रहेको बताउनुभएको हो ।

महासचिव गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत होम्सको ‘अली बिन अबी तालिब’ मस्जिदमा भएको विस्फोटप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सिरियाली स्वास्थ्य मन्त्रालय र सञ्चारमाध्यम एएनआईका अनुसार इमाम अली इब्न अबी तालिब मस्जिदमा भएको उक्त विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उद्धार गरी होम्सस्थित करम अल–लुज अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सिरियाको गृह मन्त्रालयले घटनालगत्तै होम्सको वाडी अल–दहाब जिल्लास्थित मस्जिद वरपर सुरक्षा घेरा स्थापना गरी अनुसन्धान सुरु गरेको छ । सुरक्षा स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानले मस्जिदभित्रै विस्फोटक उपकरण जडान गरी विस्फोट गराइएको सङ्केत गरेको छ । सम्बन्धित अधिकारीहरूले दोषीको पहिचानका लागि प्रमाण सङ्कलन गरिरहेको जनाएका छन् ।

विस्फोटको लगत्तै सिरियाली विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसलाई ‘कायरतापूर्ण कार्य’ को संज्ञा दिएको छ । मन्त्रालयले यो आक्रमण मानवता र नैतिक मूल्यमान्यतामाथिको प्रहार भएको भन्दै यसले सिरियालाई अस्थिर बनाउने र जनताको मनोबल कमजोर पार्ने प्रयास गरेको उल्लेख गरेको छ । मन्त्रालयले कठिन घडीमा सिरियाली जनतासँग पूर्ण एकता व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *