युक्रेन सङ्कट समाधानका लागि संवाद र वार्तामै चीनको जोड
काठमाडौँ, पुस १५ । युक्रेनमा जारी सङ्कटको दीर्घकालीन समाधानका लागि कूटनीतिक संवाद र वार्ता नै एकमात्र व्यवहारिक र प्रभावकारी उपाय भएको चीनले पुनः स्पष्ट पारेको छ । मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन ज्यानले सो धारणा व्यक्त गर्नुभएको हो ।
रुसी राष्ट्रपति निवासतर्फ युक्रेनले ड्रोन आक्रमण गरेको भन्ने दाबी सार्वजनिक भइरहेका बेला चीनको यस्तो प्रतिक्रिया आएको हो । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले किएभले रुसको उत्तरपश्चिमी नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति निवासलाई लक्षित गरी रातारात ड्रोन आक्रमण गरेको दाबी गर्नुभएको थियो ।
चिनियाँ प्रवक्ता लिनले युद्धको संवेदनशीलतालाई ध्यान दिँदै सम्बन्धित सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभयो । उहाँले युद्धको क्षेत्र विस्तार नगर्न, लडाइँको तीव्रता नबढाउन र तनावलाई थप उत्तेजित बनाउने कुनै पनि गतिविधिबाट टाढा रहन जोड दिनुभयो ।
“सङ्कटको राजनीतिक समाधानका लागि सबैभन्दा पहिले तनाव न्यूनीकरण गर्नु र वार्ताका लागि अनुकूल वातावरण सिर्जना गर्नु आवश्यक छ,” प्रवक्ता लिनले भन्नुभयो । चीनले क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्न सधैँ कूटनीतिक प्रयासहरूलाई समर्थन गर्दै आएको र आगामी दिनमा पनि शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
