यमनको मुकल्ला बन्दरगाहमा साउदीको हवाई आक्रमण : युएईलाई दिएको चेतावनीले क्षेत्रीय तनाव बढायो

काठमाडौँ, पुस १५ । साउदी अरबले मङ्गलबार यमनको रणनीतिक बन्दरगाह सहर मुकल्लामा भीषण हवाई आक्रमण गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) समर्थित पृथकतावादी शक्तिहरूका लागि हतियार ढुवानी भइरहेको दाबी गर्दै साउदीले सो आक्रमण गरेको हो । यस घटनासँगै साउदी अरबले अबु धाबी (युएई) लाई कडा चेतावनी दिँदै उसका पछिल्ला गतिविधिहरू ‘अत्यन्त खतरनाक’ भएको जनाएको छ । यो आक्रमणले यमन युद्धमा हुथी विद्रोहीविरुद्ध सँगै लडिरहेका दुई प्रमुख साझेदार राष्ट्र साउदी र युएई बिचको बढ्दो दरारलाई सतहमा ल्याइदिएको छ ।

आक्रमणपछि यमनमा रहेका हुथी विरोधी फौजले युएईसँगको सैन्य सहकार्य तोड्ने घोषणा गरेका छन् । उनीहरूले युएईका सैनिकहरूलाई २४ घण्टाभित्र यमन छोड्न आदेश दिएका छन् । साथै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै विमानस्थल र बन्दरगाहहरूमा ७२ घण्टाका लागि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार मुकल्ला बन्दरगाहमा रहेका जहाजहरूले आफ्नो ट्र्याकिङ उपकरण (जीपीएस) बन्द गरेर हतियार र बख्तरबन्द सवारी साधनहरू ओसारपसार गरिरहेका थिए । सोही सूचनाका आधारमा साउदीले ‘सीमित हवाई आक्रमण’ गरेको दाबी गरेको छ । आक्रमणबाट भएको मानवीय क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो आक्रमण दक्षिणी ट्रान्जिसनल काउन्सिल (STC) को बढ्दो सैन्य सक्रियतालाई रोक्ने साउदीको एउटा प्रयास हो । मुकल्ला हाल सोही काउन्सिलको नियन्त्रणमा छ, जसले दक्षिण यमनलाई छुट्टै स्वतन्त्र राष्ट्र बनाउने अभियान चलाउँदै आएको छ । साउदीले एसटिसीलाई हदरामौत र महराका प्रान्तहरूबाट पछि हट्न चेतावनी स्वरूप यो कदम चालेको बुझिएको छ ।

पछिल्लो समय क्षेत्रीय प्रभाव, व्यापार र तेल उत्पादनका विषयमा साउदी अरब र युएईबीच प्रतिस्पर्धा बढ्दै गएको छ । साउदी विदेश मन्त्रालयले युएईको कार्यलाई सिधै लक्षित गर्दै टिप्पणी गरेपछि दुई देशको सम्बन्ध थप दबाबमा परेको छ । यस घटनाले यमनको जटिल युद्धलाई झनै अन्योलपूर्ण मोडतर्फ धकेलिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *