वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुत्दा निस्सासिएर ३८ दिनकी शिशुको मृत्यु, तीन जना बेहोस

सुर्खेत, १७ पुस । सुर्खेतको वीरेन्द्रनगरमा बन्द कोठाभित्र कोइला बालेर सुत्दा निस्सासिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ मा डेरा गरी बस्ने भेरीगंगा नगरपालिका–२ की तारा बुढाको ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भएको हो । जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुतेका उनीहरू बिहीबार बिहान अबेरसम्म नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा सबै जना अचेत अवस्थामा फेला परेका थिए ।

प्रहरीका अनुसार, ३८ दिनकी शिशुको ज्यान गइसकेको थियो भने तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढा अचेत थिए । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ । अस्पताल स्रोतका अनुसार उपचारपछि उनीहरूको अवस्था क्रमशः सामान्य हुँदै गएको छ ।

बन्द कोठाभित्र कोइला बाल्दा अक्सिजनको कमी र कार्बन मोनोअक्साइड ग्यासका कारण निस्सासिएर उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृत शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा राखिएको छ ।

जाडो मौसममा झ्याल–ढोका थुनेर आगो वा कोइला बाल्दा यस्ता जोखिम हुने भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ ।