चीनको खासा क्षेत्रमा भीषण आगलागी, तातोपानी नाका पूर्ण रूपमा ठप्प
सिन्धुपाल्चोक, २८ पुस । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल–चीन व्यापारको प्रमुख उत्तरी नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ । चिनियाँ प्रशासनले डढेलोका कारण सुरक्षा जोखिम बढेको उल्लेख गर्दै नाकाबाट हुने सम्पूर्ण आवतजावत र व्यापारिक गतिविधिमा रोक लगाएको हो ।
आइतबार राति न्यालम र खासाको मध्य भागमा पर्ने ‘छोबिन’ क्षेत्रबाट सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन । इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आगो तीव्र रूपमा फैलिँदै गएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर चिनियाँ पक्षले मालबाहक सवारीसाधन, स्थानीय र पर्यटकको आवागमनमा प्रतिबन्ध लगाएको हो ।
आगलागीका कारण सीमा क्षेत्रको जनजीवनसमेत प्रभावित भएको छ । डढेलोको धुँवा र खरानीले नेपालतर्फको लिपिङ र तातोपानीलगायतका क्षेत्रको आकाश ढाकेको छ । भीषण आगलागीले सीमा क्षेत्रको सञ्चार तथा नेटवर्क सेवासमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
गत वर्षको बाढीका कारण रसुवा नाका पहिलेदेखि नै प्रभावित रहेको अवस्थामा तातोपानी नाका पनि बन्द भएपछि चीनसँगको वैदेशिक व्यापार सङ्कटमा परेको छ । नाका ठप्प हुँदा करोडौँ मूल्यका आयातित सामान बोकेका सयौँ कन्टेनरहरू सीमा क्षेत्रमै रोकिएका छन् ।
नेपाल ट्रक कन्टेनर मजदुर सङ्घका अध्यक्ष अर्जुन सापकोटाले नाका खुल्ने विषयमा कुनै निश्चित टुङ्गो नलाग्दा व्यवसायी र आयातकर्ताहरू थप चिन्तित बनेको बताउनुभयो । डढेलो नियन्त्रणमा नआएसम्म नाका सुचारु हुने सम्भावना न्यून देखिएको छ ।