स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा रेणु त्वानाबासु : पाँचौँ अधिवेशनबाट ७ सदस्यीय कार्यसमिति चयन

भक्तपुर, ३० पुस । स्वतन्त्र पत्रकार संघ नेपाल, जिल्ला शाखा भक्तपुरको सातौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन बुधबार भव्य रूपमा सम्पन्न भएको छ ।

अधिवेशनले रेणु त्वानाबासुको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

अधिवेशनबाट निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा विकुराम तजले चयन हुनुभएको छ । त्यस्तै, सहसचिवमा राजन कार्की, कोषाध्यक्षमा प्रेमध्वज मोक्तान र सदस्यहरूमा राजाराम नापित तथा सुनिल दुवाल निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघको स्थापना दिवसको अवसर पारेर आगामी फागुन २४ गते नवलपरासीको नवलपुरमा केन्द्रीय अधिवेशन आयोजना हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा संघका ललितपुर जिल्ला अध्यक्ष उपेश नौवागले दलीय पत्रकारिताको बाहुल्य रहेको वर्तमान अवस्थामा स्वतन्त्र पत्रकार संघले निष्पक्षताका लागि कठोर सङ्घर्ष गरिरहेको बताउनुभयो ।

निवर्तमान अध्यक्ष सुरेश सैंजू, सल्लाहकार कृष्ण किसी, पोखराका पूर्वअध्यक्ष कृष्ण रानाभाट लगायतले नयाँ समितिलाई सुझाव तथा शुभकामना दिनुभएको थियो ।

अधिवेशनले सात सदस्यीय पार्षदहरू समेत निर्वाचित गरेको छ । जसमा निवर्तमान अध्यक्ष सुरेश सैंजू, सल्लाहकार कृष्ण किसी, संगम लामा, पृथ्वीराज श्रेष्ठ, शान्त लाकजू, इन्द्र तामाङ र रत्न प्रजापति रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष त्वानाबासुले आफ्नो कार्यकालमा भक्तपुरका स्वतन्त्र पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिका लागि विशेष योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।