कांग्रेस विवादमा देउवा पक्षको ‘काउन्टर’, ८८५ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता

काठमाडौँ, २ माघ । नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद वारपारको स्थितिमा पुगेका बेला संस्थापन (शेरबहादुर देउवा) पक्षले निर्वाचन आयोगमा ‘काउन्टर’ प्रमाण पेश गरेको छ । गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको दाबी गरिरहँदा देउवा पक्षले ८ सय ८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको कागजात आयोगमा बुझाएको हो ।

शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगेका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका भनिएका प्रतिनिधिहरूमध्ये ठूलो संख्याले आफ्नो समर्थन फिर्ता लिएको प्रमाण पेश गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, विशेष महाधिवेशनका लागि पहिले हस्ताक्षर गरेका ८८५ जना प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको आधिकारिक पत्र आयोगलाई बुझाइएको छ । “विशेष महाधिवेशनका लागि आवश्यक पर्ने संख्या नपुगेको र हस्ताक्षर गरेकाहरूले पनि फिर्ता लिइसकेको अवस्थामा गगन थापा नेतृत्वको भनिएको समितिले वैधानिकता पाउन सक्दैन,” मुख्य सचिव पौडेलले भने ।

गगन थापा नेतृत्वको समूहले बिहीबार मात्रै आयोग पुगेर पार्टीको नयाँ कार्यसमिति अद्यावधिक गर्न र शेरबहादुर देउवाको हस्ताक्षर चल्ने अधिकार खारेज गर्न माग गरेको थियो । त्यसको भोलिपल्टै संस्थापन पक्षले पदाधिकारी, केन्द्रीय सदस्य र भ्रातृ संगठनका नेताहरूको ठूलो उपस्थितिमा आयोग पुगेर आफ्नो दाबी पेश गरेको हो ।

कांग्रेस टोलीसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा आयोगले विधिसम्मत निर्णय लिने आश्वासन दिएका छन् ।