माओवादी केन्द्र काठमाडौँ महानगरका तत्कालीन अध्यक्ष लामा एमालेमा प्रवेश
भक्तपुर, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ ।
सोमबार दिउँसो भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक कार्यक्रमका बीच उहाँ एमाले प्रवेश गर्नुभएको हो । अध्यक्ष ओलीले लामालाई पार्टीको झण्डा, नेपालको झण्डा र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो ।
सो अवसरमा लामाले आफू एमालेमा प्रवेश गर्न केही ढिला भएको महसुस गरेको प्रतिक्रिया दिनुभयो । लामासँगै माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विष्णु जोशी पनि एमालेमा प्रवेश गर्नुभएको छ ।