७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ, माघ १३ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको प्रशासन र शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन महानगरले नयाँ कदम चालेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले आगामी ७ दिनभित्र महानगरका सबै सामुदायिक विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी पूर्ण रूपमा ‘डिजिटल’ बनाउन निर्देशन दिनुभएको छ ।

शिक्षा र सूचना प्रविधि विभागका अधिकारीहरूसँगको विशेष छलफलमा कार्यवाहक प्रमुख डंगोलले विद्यालयमा नियमितता कायम गर्न प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमितता विद्यार्थीको मात्र होइन, शिक्षक र कर्मचारीको पनि चाहिन्छ । अब विद्यालयमा वितरण गरिने दिवा खाजालाई समेत डिजिटल हाजिरीसँग आबद्ध गराउनुपर्छ ।”

SEE नतिजामा सुधार ल्याउनैपर्ने सर्त
आगामी माध्यमिक शिक्षा परीक्षा (SEE) लाई लक्षित गर्दै डंगोलले गत वर्षको तुलनामा नतिजा उत्कृष्ट बनाउन निर्देशन दिनुभएको छ । शैक्षिक सुधारका लागि तयारी कक्षा, अतिरिक्त कक्षा, र आवश्यक परे शिक्षक थप गरेर भए पनि नतिजामा गुणात्मक सुधार देखिनुपर्ने उहाँको भनाइ छ । “तथ्यले नतिजामा सुधार देखाउनुपर्छ, यसमा कसैलाई छुट हुने छैन,” उहाँले स्पष्ट पार्नुभयो ।


महानगरले दर्ता भएर पनि सञ्चालनमा नरहेका विद्यालयहरूलाई खारेजी प्रक्रियामा लैजाने भएको छ । यस्तै, भृकुटीमण्डपस्थित पुस्तकालयको स्तरोन्नति, सामुदायिक विद्यालयको पूर्वाधार परीक्षण प्रतिवेदन, र ‘शिक्षामा सीप’ कार्यक्रमको प्रभावकारिताबारे पनि बैठकमा समीक्षा गरिएको थियो ।

सामाजिक विकास विभागअन्तर्गत व्यवसायमा दर्ता भएर सञ्चालित प्रारम्भिक बाल विकास (ECED) कक्षाहरूको उचित व्यवस्थापन र विद्यालय स्तरमा खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई तीव्रता दिने निर्णय समेत भएको छ ।

छलफलमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्ले, र सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपाल लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *