हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन डोजर परिचालन, सयौँ दर्शनार्थी अलपत्र

मुस्ताङ , १५ माघ । भारी हिमपातका कारण विगत दुई दिनदेखि अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन आज (बिहीबार) बाट यान्त्रिक उपकरण परिचालन गरिएको छ ।

मङ्गलबारको हिमपातले सडक ठप्प हुँदा सयौँ तीर्थयात्री तथा पर्यटक अलपत्र परेपछि जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा हिउँ पन्छाउन थालिएको हो ।

सडक खुलाउन कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको डोजर प्रयोग गरिएको छ । वारागुङ मुक्तिक्षेत्र–४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा कागबेनीको पहिलो मोडबाटै हिउँ पन्छाउने काम सुरु भएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कागबेनी–मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्राधिकारमा पर्छ । तर, दर्शनार्थीहरूको समस्यालाई मध्यनजर गर्दै करिडोर आयोजनाले आफ्नो डोजर उपलब्ध गराएको हो ।

वडाध्यक्ष गुरुङका अनुसार कागबेनीदेखि मुक्तिनाथको रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेको छ । ‘डोजरले काम सुरु गरिसकेको छ, सम्भवतः आज साँझसम्ममा सडकको हिउँ पन्छाएर यातायात सुचारु गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने ।

यसअघि बुधबार सशस्त्र प्रहरी बलको टोलीले हातैले हिउँ पन्छाउने प्रयास गरेको थियो । तर, हिमपात नरोकिएको र हिउँ निकै बाक्लो भएकाले मानव श्रमले मात्र सम्भव नभएपछि काम रोकिएको थियो । वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले सुरक्षाकर्मीको प्रयासले मात्र समय धेरै लाग्ने भएपछि सडक विभागको मेसिन मगाइएको बताए ।

सडक अवरुद्ध हुँदा बुधबार बिहानदेखि नै सयौँ दर्शनार्थी कागबेनीमा रोकिएका छन् । गाडी नचलेपछि कतिपय दर्शनार्थीले महँगो शुल्क तिरेर घोडा चढी मुक्तिनाथ दर्शन गरेका छन् भने धेरैजसो बाटो खुल्ने आसमा कागबेनीमै बसेका छन् ।