बालबालिकामा बढ्दै ‘ग्यास्ट्रिक’ को समस्या : रगत नै बान्ता हुने खतरा, यस्ता छन् लक्षण र बच्ने उपाय

काठमाडौँ, १७ माघ । ग्यास्ट्रिक वा पेटको समस्या केवल वयस्क वा पाका उमेरका मानिसलाई मात्र हुन्छ भन्ने आम बुझाइ छ । तर, पछिल्लो समय स-साना बालबालिकामा समेत ग्यास्ट्रिकको समस्या तीव्र रूपमा देखिएको छ ।

कान्ति बाल अस्पतालका अनुसार अहिले अस्पतालमा दिनहुँ ग्यास्ट्रिकबाट पीडित बालबालिका आउने क्रम बढ्दो छ ।

किन हुन्छ बालबालिकामा ग्यास्ट्रिक?
कान्ति बाल अस्पतालका बाल पेटरोग विशेषज्ञ डा. सुमित अग्रवालका अनुसार बालबालिकामा ग्यास्ट्रिक हुनुको मुख्य कारण ‘एच प्योलोरी’ (H. pylori) नामक कीटाणुको सङ्क्रमण हो । यो कीटाणु सानै उमेरमा बच्चाको शरीरमा प्रवेश गर्छ तर यसको लक्षण भने ७–८ वर्षको उमेर पुगेपछि मात्र देखिन थाल्छ ।

यसका साथै बालबालिकामा ग्यास्ट्रिक हुनुका अन्य कारणहरूमा:
अत्यधिक चिल्लो, पिरो र मसलेदार खाना ।
जङ्कफुड (चाउचाउ, कुरकुरे, लेज आदि) को नियमित सेवन ।
जथाभावी ‘पेनकिलर’ (दुखाइ कम गर्ने औषधि) को प्रयोग ।

यसरी चिन्नुहोस् लक्षणहरू:
वयस्कलाई पेट दुख्ने र अमिलो डकार आउने जस्ता सामान्य लक्षण देखिए पनि बालबालिकामा भने फरक समस्या देखिन सक्छन्:
१. मुखबाट अमिलो पानी आउने ।
२. बिहान र साँझको समयमा पेट दुख्ने ।
३. खाना खाएपछि पेट झनै दुख्ने वा कसैलाई दुखाइ कम हुने ।
४. लगातार बान्ता आउने र पेट फुल्ने ।
५. खाना नरुच्ने र विस्तारै तौल घट्दै जाने ।

समयमै उपचार नगरे रगतको बान्ता हुनसक्ने
डा. अग्रवालका अनुसार ग्यास्ट्रिकलाई सामान्य ठानेर उपचारमा ढिलाइ गरे यसले भयानक रूप लिन सक्छ । “उपचार ढिलो भएमा सानो आन्द्राको पहिलो भागमा अल्सर हुने र आन्द्राको प्वाल नै खुम्चिन सक्छ,” उहाँले भन्नुभयो, “अहिले कान्ति अस्पतालमा हप्तामा एक-दुई जना बालबालिका त रगत नै बान्ता गर्ने समस्या लिएर आउने गरेका छन् ।”

अस्पतालमा इन्डोस्कोपी गरिएका बालबालिकामध्ये ७५ प्रतिशतमा ‘एच प्योलोरी’ कीटाणुको सङ्क्रमण भेटिएको छ । विशेष गरी १८ महिनादेखि १४ वर्ष उमेर समूहका बालबालिका यसबाट बढी प्रभावित छन् ।

बच्ने उपाय र उपचार:
चिकित्सकका अनुसार यो समस्या देखिएका बालबालिकालाई करिब दुई हप्ता नियमित औषधि खुवाएमा कीटाणु निको पार्न सकिन्छ । ग्यास्ट्रिकबाट बचाउन बालबालिकालाई बाहिरको तयारी खाना (जङ्कफुड) भन्दा घरमै बनाइएको ताजा र सन्तुलित भोजन खुवाउनु पर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । यदि बच्चाले पेट दुख्यो भनिरहेमा वा मुखबाट अमिलो पानी निकालेमा तुरुन्त विशेषज्ञ डाक्टरलाई देखाउन सुझाव दिइएको छ ।