तनहुँमा फागुन पहिलो सातादेखि मतदाता शिक्षा, म्यादी प्रहरीको तालिम पनि सुरु
दमौली, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले फागुनको पहिलो सातादेखि जिल्लाका १० वटै स्थानीय तहमा अभियान चलाउन लागेको हो ।
निर्वाचन अधिकारी विकास लम्सालका अनुसार मतदातालाई मतदान प्रक्रिया, मतपत्रको सही प्रयोग र आचारसंहिताबारे जानकारी दिन यो कार्यक्रम गर्न लागिएको हो । ‘विशेषगरी नयाँ मतदाता, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यावहारिक अभ्याससहित घरदैलोमै पुगेर सिकाउने तयारी छ,’ लम्सालले भने, ‘यसले बदर मत उल्लेख्य रूपमा घट्ने विश्वास लिएका छौँ ।’
तनहुँमा यस पटकको निर्वाचनका लागि कुल २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । जसमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी छ । तथ्याङ्क अनुसार १ लाख ३० हजार ९ सय ६ जना महिला र १ लाख २३ हजार ४ सय ९१ जना पुरुष मतदाता रहेका छन् ।
जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा छन् । दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नं १ मा १ लाख ३६ हजार १ सय १८ र क्षेत्र नं २ मा १ लाख १८ हजार २ सय ७९ मतदाता छन् । यसपटक ऋषिङ गाउँपालिकाका दुई वडामा मतदान केन्द्र थपिएसँगै जिल्लाभर १४४ मतदानस्थल र ३०० मतदान केन्द्र कायम भएको छ ।
निर्वाचन नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय तनहुँले छनोट भएका म्यादी (निर्वाचन) प्रहरीको तालिम आजदेखि सुरु गरेको छ । जिल्लाका विभिन्न ५ स्थानमा तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
डिएसपी विकका अनुसार व्यास–५ को पाटन खेलमैदान, इलाका प्रहरी कार्यालयहरू आँबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुरमा तालिम दिइँदैछ । जिल्लामा १ हजार ५ सय ७३ जना म्यादी प्रहरी भर्ना गरिएको छ ।
तनहुँमा म्यादी प्रहरीका लागि आवेदन कम परेको थियो । दुई पटक म्याद थपेर भर्ना प्रक्रिया पूरा गरिएको हो । छनोट प्रक्रियामा वैकल्पिक सूचीमा परेका १९६ जनालाई भने स्याङ्जा पठाइने तयारी गरिएको छ । स्याङ्जामा आवश्यक सङ्ख्यामा आवेदन नपरेकाले तनहुँका इच्छुक वैकल्पिक उम्मेदवारलाई त्यसतर्फ पठाउन लागिएको डिएसपी विकले बताए ।
निर्वाचनमा म्यादी प्रहरीसहित करिब दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ ।