रेशम चौधरीको रिट छैटौँ पटक पेसीमा: उम्मेदवारी कायम हुने वा नहुनेबारे आज सुनुवाइ
काठमाडौँ, २२ माघ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीविरुद्ध परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यो रिट सुनुवाइका लागि आज छैटौँ पटक पेसी सूचीमा चढेको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ पहिलो नम्बरमै तोकिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट चौधरीले दिएको उम्मेदवारीलाई निर्वाचन आयोगले बदर गरिदिएपछि उनी अदालत पुगेका हुन्।
यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग उम्मेदवारी खारेज गर्नुको कारणबारे लिखित जवाफ माग गरेको थियो। साथै, अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो।
यसअघिको सुनुवाइमा अदालतले चौधरी संलग्न रहेको कर्तव्य ज्यान मुद्दासँग जोडिएको फैसलाको पूर्ण प्रतिवेदन (मिसिल) पेस गर्न आदेश दिएको थियो। माघ १५ गतेको इजलासले पूर्वआदेश अनुसारका कागजात प्राप्त भएपछि मात्र अन्तरिम आदेशबारे निर्णय लिने बताएको थियो।
प्रहरीको ज्यान मुद्दामा सजाय भोगेर राष्ट्रपतिबाट आममाफी पाएका चौधरीको उम्मेदवारीलाई निर्वाचन आयोगले ‘फौजदारी कसुरमा सजाय पाएको’ आधार देखाउँदै खारेज गरेको थियो। आज हुने सुनुवाइमा अदालतले अन्तरिम आदेश जारी गरेमा मात्र उनको उम्मेदवारी कायम रहने बाटो खुल्नेछ। सोही कारण आजको इजलासलाई चासोका साथ हेरिएको छ।